गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीको नाम परिवर्तन


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

मणि दाहाल ।
गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

‘हामीले विभिन्न पक्षबाट आएका सुझावलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं,’ संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले नागरिकसँग भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं। यस विषयमा निर्वाचन आयोगलाई आवश्यक कागजात पनि पठाएका छाैं।’

नेम्बाङका अनुसार अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टीको सट्टा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुने छ। उनले भने, ‘नागरिक समाज, कानुनविद् र पार्टीका नेता तथा कार्यकर्ताको सुझावमा यस्तो निर्णय गरिएको हो।’ निर्वाचन आयोगमा दल दर्ताका लागि दलले नेम्बाङ र देव गुरुङलाई जिम्मा दिएको छ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिनुपरेको हो। आयोगमा ऋषि कट्टेलको नेतृत्वमा नेकपा कम्युनिस्ट पार्टी दर्ता छ भने नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com