नेता पन्छाएर आएका विज्ञ अर्थमन्त्रीको बजेटबाट सत्तापक्षकै सांसद निराश


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै भरोसा गरेर अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाले पेश गरेको बजेटबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु निराश बनेका छन् ।

उनीहरुले गत चुनावमा तत्कालीन वाम गठबन्धनको घोषणापत्र र समृद्धिको सपनालाई उपेक्षा गरेको टिप्पणी गरेका छन् ।

सत्तापक्षका सांसदले खुलेर विरोध गर्न पनि सकेका छैनन् तर बजेटले निराश बनाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाउने तयारी गरेका छन् ।

बजेट वक्तव्य सुनेर बाहिरिएएका कम्युनिस्ट पार्टीका सांसदहरु निराशमात्र थिएनन्, अनौपचारिक कुराकानीमा अर्थमन्त्रीले पार्टीलाई डुबाउने चिन्ता समेत प्रकट गरिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका एक सांसदले भने ‘पार्टीका प्रभावशाली नेताहरुलाई समेत विश्वास नगरी प्रधानमन्त्रीले समृद्धिको सपना साकार पार्ने व्यक्तिका रुपमा छानेका अर्थमन्त्रीले निराश बनाए । उनले घोषणापत्र त पढेकै रहेनछन्, प्रधानमन्त्रीको सपना पनि बुझ्न सकेको देखिएन ।’

जनतालाई आशा जगाउने खालका कुनै नयाँ र ठूला परियोजना दिन नसक्नु र विगतकै जस्तो बजेट ल्याउनुले अर्थमन्त्रीको क्षमतामा प्रश्न उठेको सत्तापक्षकै सांसदहरुको टिप्पणी छ । उनीहरुले यो भन्दा राम्रो बजेट यसअघिका अर्थमन्त्री विष्णु पौडेल र सुरेन्द्र पाण्डेको पालामा आएको स्मरण गरे ।

नेकपाका नेता तथा पूर्व उर्जामन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट प्रस्तुत बजेटले समृद्धिको सपना साकार पार्न नसकेको टिप्पणी गरे । उनले बजेटमा धेरै कुरा राम्रा भए पनि मूल उद्देश्यमा अन्यौल रहेको बताए ।

‘पार्टीका प्रभावशाली नेताहरुलाई समेत विश्वास नगरी प्रधानमन्त्रीले समृद्धिको सपना साकार पार्ने व्यक्तिका रुपमा छानेका अर्थमन्त्रीले निराश बनाए । उनले घोषणापत्र त पढेकै रहेनछन्, प्रधानमन्त्रीको सपना पनि बुझ्न सकेको देखिएन ।’

पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका नेता पाण्डले भने बजेटबारे जोगिएर प्रतिक्रिया दिए । उनले बजेटले न्युन आय भएका र तल्लो तहका मान्छेलाई सेवा सुविधा दिने कुरा गरे आर्थिक वृद्धि र रोजगारी वृद्धिमा फोकस गर्न नसकेको बताए ।

पाण्डेले भने ‘बजेटले साना निमुखा र तल्लो आर्थिक अवस्थाका मानिसको सन्दर्भमा बढी छरिएको र विस्तारित ढंगले सेवा सुविधा दिने कुरा गरेको छ । यसबाट तल्लो वर्गका मान्छे लाभान्वित हुनेछ । तर आर्थिक वृद्धि र रोजागारी वृद्धिमा अझ फोकस गर्न सक्नुपर्थ्यो । केही ठूला परियोजनामा कसरी बजेट विनियोजन भएको छ,त्यो हेरेर मात्र भन्न सकिन्छ ।’

नीति तथा कार्यक्रम आउँदा जुन उत्साह थियो बजेटले निराश बनाएको भन्दै सांसदहरुले नेतृत्वको ध्यानाकर्षण गराउने भएका छन् । बजेटमाथि छलफलपूर्व हुने संसदीय दलको बैठकमा संगठित रुपमा कुरा राख्ने तयारी सत्तापक्षका सांसदको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com