सावित्रीले भनिन्-अदालतको फैसला स्वीकार्य, बालकृष्ण ढुंगेलको धम्की ‘नोटिस होस्’


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलको सजाय माफी सन्दर्भमा अदालतको फैसला स्वीकार्य हुने बताएकी छन् ।

ढुंगेल रिहा भएलगत्तै श्रेष्ठले यो प्रकरण अदालतमा पुगेकाले अदालतले जे भन्छ आफूलाई मान्य हुने बताइन् ।

उज्जन हत्याविरुद्ध अदालत पुगेर ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय दिलाउन सफल भएकी सावित्रीले आफ्नो लडाइको उद्देश्य अदालतको फैसला कार्यन्वयन होस् भन्ने रहेको बताइन् । ढुंगेलले नै अदालतको फैसलालाई चुनौती दिदै अवज्ञा गरेकाले यो लडाइ लम्बिएको उनको दावी छ ।

श्रेष्ठले भनिन् ‘मेरो भाइको हत्यारालाई अदालतले गरेको फैसला अनुसार सजाय दिनुपर्छ भनेर कानुनी लडाई लडेको हो । तर उनैले अदालतको फैसलालाई चुनौती दिदै सम्मानित न्यायाधीश, वकिल, पत्रकार र मेरो परिवारलाई धम्की दिदै हिडेको हो । उतिबेलै अदालतको फैसला मानेको भए पहिले नै छुट्ने थिए होला ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले ढुंगेललाई सजाय मिनाहको सिफारिस कुन कानुनी प्रक्रियाबाट गरेको हो भन्ने अदालतले निरुपण गर्ने उनले बताइन् । आफूले सुने अनुसार ढुंगेलको ४० प्रतिशत कैद अवधि पुग्न १५ दिन बाँकीनै रहेको भन्दै श्रेष्ठले यसबारे अदालतको अन्तिम फैसला सबैलाई मान्य हुने बताइन् ।

सावित्रीले भनिन् ‘अदालतले जे फैसला गर्छ त्यो मलाई मान्य छ । किनकी अदालतको फैसला नमान्ने म बालकृष्ण ढुंगेल होइन । तरे जेलबाट छुटेपछि पनि बालकृष्ण ढुंगेलले पत्रकार र वकिललाई एक थाल भातमा बिक्ने भनेर मानमर्दन गरिरहेका छन् । उनको खुलेआम धम्कीबाट हाम्रो परिवार भविष्यमा असुरक्षित हुने सम्भावना छ। सरकारले उनको अभिव्यक्तिलाई नोटिसमा लिनुपर्छ ।’

ओखलढंगा पोकलीका उज्जन श्रेष्ठको २०५४ सालमा लिखु नदी किनारमा तत्कालिन माओवादी कार्यकर्ताले हत्या गरेका थिए । हत्यामा संलग्न भएको भन्दै परिवारले सोही गाउँका माओवादी नेता बालकृष्ण ढुंगेल र पुष्कर गौतमविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी दिने दाजु गणेश श्रेष्ठको पनि २०५९ सालमा माओवादीले रामेछापको साँघुटारस्थित खेतमा काम गरिरहेका बेला हत्या गरेका थिए । गणेशको हत्याको केही समयपछि छोरी रचनाले आत्महत्या गरेकी थिइन् ।

दाजु र भाइको हत्यापछि यो मुद्दा सावित्रीले अघि बढाएकी हुन् । उज्जन हत्या अभियोगमा ढुंगेलसँगै जोडिएका पुष्कर गौतम भने ४ वर्षदेखि जेलमा छन् । बालकृष्णले भने द्धन्द्धकालमै ७ वर्ष जेल सजाय भोगेकाले उनको कैद सजाय माफी दिइएको हो ।

सावित्रीले एमाले र माओवादी गठबन्धन हुनासाथ बालकृष्ण ढुंगेल छुट्ने अनुमान आफूले उतिबेलै लगाइसकेको बताइन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com