कृषि विकास बैंकको सेवाप्रति जनप्रतिनिधिको गुनासो


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

सेवा छिटो-छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महंगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । जनतालाई सहज सुविधा दिन नसके उनीहरूको आकर्षण निजी क्षेत्रको बैंकमा हुने उहाँले धारणा राख्नुभयो ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले कृषि विकास बैंकले किसानलाई उपेक्षा गरेको भन्ने गुनासो रहेको भन्दै त्यसलाई मेट्ने गरी काम गर्न सुझाव दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनताको अपनत्व हुनुपर्याे

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लिन झण्झटिलो भएको गुनासो रहेको हुंँदा अन्य व्यावसायिक बैंकजस्तै प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्ने बताउनुभयो । सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख चुननारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकाले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

साना किसानलार्इ उपेक्षा

कार्यक्रमका अन्य सहभागीले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने, साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बैंक भएता पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो थियो ।

सो अवसरमा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले बैंकले अघिल्ला वर्षमा भन्दा अहिले सेवा सुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीयतहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताउनुभयो ।
कृषि विकास बैंकलाई आफ्नै घर आँगनको बैंक सम्झेर यसलाई कसरी अगाडि बढाउने, बैंकको दायित्वलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफूले सुझाव सल्लाहको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com