सन्दीप लामिछानेले दुई चार डल्ला के फ्याँक्न पाएको थियो चम्कियो


प्रकाशित मिति : जेष्ठ १०, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् ।
उनले नेपाली युवाले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको बताए । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले अब देशमा रहेका क्षमताको सही पहिचान र सदुपयोग हुने बताएका हुन् ।

युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताए ।
उनले भने, ‘ सन्दीप लामिछानेले दुई चार डल्ला के फ्याँक्न पाएको थियो चम्कियो । सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्’, उनले थपे, ‘उनलाई गायन वा चित्रकलामा लगाएको भए हुँदैनथ्यो ।’ नेपालमा क्षमतावान युवाहरूको कमी नभएको दावी गर्दै उनले भने, ‘दुनियाँले हन्टिङ गरिरहोस् हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’

ओलीले बालबालिकालाई क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । उनले कुनै विद्यार्थीलाई पनि असक्षम भनेर ट्याग लगाउने नहुने बताए । नेपालमा पछिल्लो समय फेलको व्यवस्थालाई हटाएकामा उनले खुसी प्रकट गरेका थिए । उनले त्यसो गरेर कसैको पनि क्षमता र आत्मविश्वासमा खेलवाड गर्न नहुने बताए । ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको खाका तयार पारिरहेको र अब प्रमाणपत्र देखाएर जागिर खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

उनले विकासका कुरा गर्दा केही मान्छेले हावादारी गफ भनेको भन्दै आपत्ती जनाएका थिए । विकास एकदुई दिनमै नआउने र सबै जनताको सहभागीता रहनुपर्ने उनको धारणा थियो । ओलीले शिक्षाका नाममा हुने व्यापारलाई नियन्त्रण गर्नेपनि बताएका छन् । उनले गुणस्तरीय शिक्षा भन्दैमा जति पनि शुल्क लिन नपाइने र नदिइने बताए । उनले नीजि क्षेत्रलाई शिक्षामा गरेको लगानी र योगदानको कदर गर्ने तर यसको माध्यमबाट हुने लुटलाई नसहने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com