दरबारमार्ग बलात्कार काण्ड : मुख्य आरोपित जेल चलान


प्रकाशित मिति : जेष्ठ १०, २०७५ बिहीबार

गत माघ ७ गते काठमाडौं दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरु दिपक श्रेष्ठ, विकास गौतम र रवी पौडेल भने अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।

यसअघि गएको वैशाख १ गते घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाको अनुसन्धानपछि उक्त मिसिल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

घटनाका मुख्य योजनाकार कार्कीलाई घटनाको दुई महिनापछि चैत ६ गते दरबारमार्गबाटै पक्राउ गरेको थियो । आफू बलात्कृत भएसँगै युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन् । तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।

घटनालाई मिलापत्र गर्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नियन्त्रणमा लिइएको थियो । वृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई अनुसन्धानका लागि काठमाडौं परिसर तानिएको थियो । त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सई चन्द भण्डारीलाई निलम्वन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टाछुट्टै दुई छानविन टोली बनाएको थियो । टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको थियो ।

घटनाको वास्तविकता पत्ता लगाउन भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरूले पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउनुका साथै छिपाउने काममा संलग्नता रहेको खुलेको थियो ।

समितिले पीडित पक्ष र आरोपित पक्षसँग मिलापत्र गराउनेमा डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीको संलग्नता रहेको ठहर गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com