प्रहरी हिरासतमा ज्यानको खतरा भयो – गोरे


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् ।

प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारीवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न भन्दै गोरेले बुधवार अदालतमा निवेदन चढाएका हुन् ।

अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन माग गरेका छन् । सुन तस्तरी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदवारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो ।

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । बुधवार अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन ।
सुन तस्करी र सनम शाक्यको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेवार बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङ स्रोतले जनाएको छ ।

बुधवारसम्म गोरेले बयानमा अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत बयानमा उल्लेख गरेका छन् । तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम भने बताउन चाहेन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com