रातो पासपोर्ट दिन कडाइ,७ सांसदले पाएनन्
प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार
परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद् सचिवालयलाई पत्राचार गरेर रातो पासपोर्टमा कडाइ गरिएको जनाएकाे छ ।
पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लागि सांसदको नाम सिफारिस नगर्न आग्रह गरेको छ । विभागको आग्रहअनुसार भ्रमणका आधार र कागजात पेस नगरी सिफारिस मागेका ७ सांसदलाई सचिवालयले सिफारिस नदिएको कान्तिपुर दैनिकमा समाचार छ ।