बुहारी सफल बनाउने सासू


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

सासू बुहारीको सम्बन्धलाई नेपाली समाजमा फरक रुपमा चित्रण गरेको पाइन्छ । तर, परम्परावादी सोच र त्यही वातावरणमा हुर्के बढेका सासूहरूको विचारमा अहिले ठूलो परिवर्तन आएको छ । जसको कारण बुहारी घरबाट बाहिर निस्किएर कामगर्ने वातावरण तयार भएको छ । सासूको सहयोगबाट धेरै बुहारीहरूले व्यावसायिक सफलता हाँसिल गरेका छन् । उमेरले वृद्ध भएपनि मन खुलाएर सहयोग गर्ने पोखराका केही सफल बुहारीका सासुले बुहारीको सफलतामा गर्व लाग्ने गरेको बताए ।

महिला उद्यमी हिरा भट्टराई सासू प्रबृत्ति त्यागेमा सासु बुहारीबीच समस्या नहुने बताउनुहुन्छ । यस मामलामा आफू निकै भाग्यमानी बुहारी भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘मेरो सफल जीवनको यात्रामा श्रीमान जत्तिकै योगदान सासू आमाको पनि छ, मैले जे काम सुरू गर्दापनि सासूआमाको आर्शिवाद लिएर थाल्ने गरेकी छु ।’

हस्तकला उद्योग सञ्चालन, पोखरा उद्योग बाणिज्य संघको कार्यसमितिमा जाँदा र रेडियो खोल्ने बेला सासूआमाकै आशिष लिएरमात्रै अघि बढेको उहाँ बताउनुहुन्छ । ‘तिमी मेहनती र लगनशील छौ, सफल हुन्छौ भन्दै सासूले आशिष दिनु भएको थियो र सफल पनि भएकी छु’, भट्टराईले भन्नुभयो । सासू नभएको भए आज हिरा भट्टराईको परिचय कतै खोज्नु पथ्र्यो होला, म सासू हुँ मेरो स्याहार सुसार गरेर बस भनेर उहाँले कहिल्यै नभनेको उहाँले बताउनुभयो । १० वर्ष श्रीमान जापान बस्दापनि उहाँको पुरा साथ दिएकाले आँफू विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुँदै उद्योगतर्फ अगाडि बढ्ने अवसर मिलेको भट्टराइ बताउनुहुन्छ ।

‘आमाले मलाई बुहारी हो भनेर कहिल्यै दबाउन खोज्नु भएन, श्रीमान बाहिर हुँदापनि मलाई एक्लो अनुभव नहोस् भनेर मसँगै बस्नुभयो । मैले उहाँबाट छोरीको जस्तै माया, साथ र सहयोग पाएकी छु । एउटा अर्को संयोग पनि छ, हामी दुबैजनाको जन्मदिन एकैदिन वैैशाख २४ गते हो यसले छुट्टै आत्मियता बढाएको छ’, उहाँले भन्नुभयो ।

हिरा भट्टराई की ७७ वर्षीया सासु लक्ष्मी भट्टराई पनि बुहारीको सफलता र नामले आफूलाई खुशी तुल्याएको बताउनुहुन्छ । केही गर्छु भन्नेलाई ढोका खोलिदिनु पर्छ । जमाना अनुसार सासुुहरूले पनि दिल खोल्नु पर्ने लक्ष्मी बताउनुहुन्छ । हिजो, मेला पात, पानी पँधेरो, ढिकीजाँतो, सबै सबै काम बुहारीले गर्नुपथ्र्यो, तर आज त्यो समय छैन । आजका बुहारी पढेलेखेका र आत्मनिर्भर हुन सक्ने क्षमताका छन् । बुहारीलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरणका लागि आफुले सक्दो सहजीकरण गरेको उहाँ बताउनुहुन्छ ।

‘बुहारी नल, खर, मकैको खोस्टा, जलकुम्भीको झार खोजेर रातको १०/११ बजे सम्म हस्तकलाका सामान बनाएर देखाउँछिन् । उनको मेहनत र लगनशीलता गजबको छ । उनलाई अल्छि लागेको पनि मैले देखेकी छैन । बुहारी जति व्यस्त भएपनि मेरो खानपान र स्वास्थ्यकालागि चनाखो हुन्छिन् । आदर, सत्कारदेखि सबै कुरामा उनको व्यवहार राम्रो छ । मलाई गर्व लाग्छ हिरा भट्टराईको सासु आमा हुन पाएकोमा’ लक्ष्मी भन्नुहुन्छ ।

चरक नर्सिङ्ग कलेजको प्रिन्सिपलको रुपमा कार्यरत सृजना पण्डित पहारीको व्यस्त र सफल जीवन यात्रामा सासु जमुना पहारी भूमिका पनि त्यत्तिकै अतुलनिय रहेको छ । सँधै सकारात्मक सोच राख्ने र छोरी बुहारीमा भेदभाव नगर्ने सासु आमाको व्यवहारबाट निकै प्रभावित हुनुहुन्छ सृजना पहारी । ‘म आफूलाई सबैभन्दा भाग्यमानी बुहारी ठान्छु । उहाँ ‘मेरो रोल’ मोडल हुनुहुन्छ । सबै ढोका खुला गरेर स्वतन्त्र रुपमा अघि बढ्न प्रेरणा दिइरहने मेरो सफल जीवनको महत्वपूर्ण हिस्सा हुनुहुन्छ मेरो सासु आमा । मेरो हरेक अवस्थाको ख्याल गरेर घुम्नदेखि आराम गर्ने सल्लाह दिनुहुन्छ । यो भन्दा सुखद पक्ष अरु के होला एक बुहारीका लागि’ सृजना भन्नुहुन्छ ।

यतिबेला आफू श्रीमानसँग काठमाडौं भएपनि दुइवटा बच्चा सासुसँगै भएको उहाँले बताउनुभयो । ‘तिमीलाइ धेरै विदा मिल्दैन फुर्सद पनि पाउँदिनौ अहिले घुम्न जाऊ भनेर पठाउनु भयो’ सृजना भन्नुहुन्छ ।

स्थापनाकालदेखि चरक नर्सिङ्ग कलेजको प्रिन्सिपलको रुपमा कार्यरत सृजनाले आफ्नो पेसाबाहेक घरको कामको बोझ धेरै लिनु नपरेको बताउनुहुन्छ । राजनीतिमा सक्रिय श्रीमानले घरका लागि त्यति समय दिन नपाउने हुनाले आमाको सहयोगलेमात्र आफूले बच्चा, जागिर र घरको व्यवस्थापन सबै जिम्मेवारी निभाउन सहज भएको उहाँको भनाइ छ ।

सासु जमुना पहारी उमेरले ६३ वर्षको भएपनि आधुनिक परिवेशलाई आत्मसात गर्ने हुनुहुन्छ । बुहारीको सफलतालाई परिवारको सफलताको रुपमा लिने उहाँको सोच भएको बताउने सृजनाले भन्नुभयो ‘बुहारीले पी.एच.डी गरेको हेर्न मेरो सासु आतुर हुनुहुन्छ ।’

बदलिँदो समयमा परम्परावादी सोच राखेर बुहारीलाई दमन गर्नु आफैँमाथिको प्रहार भएको सासु जमुनाको बुझाइ छ । जतिसुकै थकित भएपनि आफूलाइ हँसिलो अनुहारमा राख्न सक्ने खुबी बुहारीमा देख्दा मख्ख पर्नु हुन्छ उहाँ । ‘आफ्नो कर्तव्य र भूमिकाप्रति उनले विशेष ध्यान दिन्छिन् । हामी एकअर्कालाई सकेसम्मको सहयोग गर्छौं । आमा छोरी जस्तै कुराहरू शेयर गर्छौं । समय मिल्यो भने घुम्न पनि जान्छौं ।’ जमुना पहारीले भन्नुभयो ।

समाजमा सासुबुहारीबीच देखिएका द्वन्द्व र असमझदारीले पारिवारिक विखण्डन आएका छन् । सासुले पनि अहिलेका पढेलेखेका र आधुनिक बुहारीको भावनालाई बुझिदिनुपर्छ र बुहारीले पनि सासुको भावनाको कदर गर्न सके परिवार मजबुत हुने विश्वास पहारीको छ ।

यसैगरि बुहारी सबैले चिन्ने मान्छे भएकोमा खुशी लाग्ने बताउनुहुन्छ ८४ वर्षीया नर्बदा बराल । असल र सहयोगी सासु बनेर बुहारीलाई सघाइरहेको उहाँ बताउनुहुन्छ । व्यवसायदेखि विभिन्न सामाजिक संघसंस्थामा व्यस्त बुहारी सिता बराललाई घरको भान्सामा पस्ने फुर्सद नै हुँदैन । पोखराको न्यूरोडमा चेरिष्मा इम्पोरियम एण्ड बुटिक संचालन गरेकी सिता गण्डकी टेलिभिजनमा पनि आवद्ध हुनुहुन्छ भने विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील हुनुहुन्छ । उहाँको व्यस्ततालाई सासुआमा नर्बदाले पनि बुझिदिनु भएको छ । नर्वदा भन्नुहुन्छ ‘मैले सक्दासम्म सहयोग गर्छु, खाना पकाउँछु । बुहारी पनि व्यस्त छिन् । मैले सक्ने काम गरेँ भने बुहारीले व्यवसायका लागि समय दिन पाउँछिन् । बुहारीलाई सबैले चिन्ने भएकोमा गर्व लाग्छ । उनले राम्रोसँग व्यवसाय चलाएकी छिन् म यसैमा खुसी छु, अझै धेरै प्रगती गरुन् ।’

बुहारी सिता बराल पनि सासुको व्यवहार र सहयोगबाट अत्यन्त प्रभावित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘२०६३ सालदेखिको मेरो व्यावसायिक यात्रामा सँधै सासुको सहयोग र साथले रहँदै आएको छ । सँधै छोरीको जस्तो व्यवहार गर्ने हुँदा मैले कहिल्यै दकस मान्नुपरेन, लाउने, खाने र घुम्ने कुरामा उहाँबाट कहिल्यै रोकावट भएन । उमेरले ८४ वर्ष भएपनि आधुनिक सोच र सहयोगी भावनाले मैले स्वतन्त्र रुपमा काम गर्न अवसर पाइरहेकी छु ।’

काम विशेषले राति अबेर भयो भने पनि खाना खायौ कि खाएकी छैनौं भनेर सासुआमाले ओछ्यान मै खाना बोकेर आउने गरेको सिता बताउनुहुन्छ । आफ्नो व्यस्ततालाई बुझेर सासुका अन्य चार छोरा बुहारी तुलनात्मक रुपमा आफूभन्दा बढि फुर्सदिला भएपनि आफूसँगै बसेर सहयोग गरेकोमा सिता सासुप्रति धन्य हुनुहुन्छ । घरमा काम गर्ने सहयोगी दिदी भएपनि खानाचाहि सासु आमाले नै पकाउने उहाँ बताउनुहुन्छ । ‘मैले गर्न सक्ने बेलासम्म तिमीहरूले चिन्ता लिनु पर्दैन ढुक्कसँग आफ्नो काममा ध्यान देऊ भन्नुहुन्छ’ सिता भन्नुहुन्छ ।
परिवारको सहयोगले व्यवसाय र अन्य संघसंस्थामा समय दिन पाएकोे सिता बरालको भनाइ छ । उहाँहरूको सहयोगले मलाई काममा थप ऊर्जा प्राप्त भइरहेको छु ।

भावना पोखरेलको सफल जागीरे जीवनका लागि सासु आमा कोपिला ज्ञवालीको उत्तिकै सहयोग र साथ रहेको छ । मनिपाल नर्सिङ्ग कलेजमा सहायक प्राध्यापक भावना सासुको सहयोगी भावना र मिलनसार व्यवहारले घरको अनावश्यक तनाव बेहोर्नु नपरेको बताउनुहुन्छ । भावना भन्नुहुन्छ –‘म विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काममा हुन्छु । ४ जनाको हाम्रो परिवारमा सासु आमाको सहयोग नहुँदो हो त मैले दोहोरो जिम्मेवारीलाई सम्हाल्नु पथ्र्यो । तर, आमाले घरको सबै व्यवस्थापन गरिदिनु भएको छ ।’
समय मिलेसम्म आमालाई भान्सामा सहयोग गर्ने भावनाले श्रीमानको भन्दा बढि सहयोग सासुआमाले गर्ने गरेको बताउनुहुन्छ ।

‘नरिसाउने, नम्र स्वभाव हरेक परिस्थितिको सामना गर्न सक्ने धैर्यवान्, अरुको सँधै भलो चिताउने सासु आमाबाट मैले पाएको आर्दश पक्षहरु हुन्’, उहाँ भन्नुहुन्छ । आफूले आमाबाट साथीको व्यवहार पनि बताउँदै उहाँले आफ्ना मनका कुरा पनि सासु आमालाई भन्ने गरेको र उहाँले पनि सल्लाह सुझाव पाउने गरेको भावनाको भनाइ छ । टाढा जाने अवसर नमिले पनि समय मिलेसम्म सासु बुहारी नजिक घुम्न निस्कने गरेको भावना बताउनुहुन्छ ।

‘छोरी नभएको घरमा बुहारीको आगमनले लक्ष्मी भित्रिएको अनुभुति भइरहेको छ । बुहारी पनि त्यस्तै गुण भएकी छिन, सासु कोपिला भन्नुहुन्छ । बुहारीले अरुको आदर, सत्कार, नम्र बोली र मिजासिलो व्यवहारले सबैको मन जितेको ठम्याई कोपिलाको छ । ‘यिनी जागिरमा जानुपर्छ घरको काममा मैले सघाएँ भने यिनलाइ तनाव कम हुन्छ । बुहारीको खुसी नै हाम्रो परिवारको सफलता हो । मैले म सासु हुँ भन्ने कहिल्यै सोच्दिनँ । आमाछोरीको जस्तो सम्बन्ध छ हाम्रो’ कोपिलाले भन्नुभयो । उहाँ भन्नुहुन्छ ‘समय बदलियो सासु भएकाले पनि मन बदल्नु पर्छ । आफ्ना दिन सम्झेर बुहारी माथि जाइलाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com