भारतीय कर्मचारीको ‘सहुलियत भ्रमण’ मा नेपाल


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा पठाउने र त्यसका लागि सुविधा उपलब्ध गराउने गरेको छ । प्रतिवर्ष ५ लाखभन्दा बढी भारतीय कर्मचारीले त्यस्तो सुविधा लिने गरेका छन् । भ्रमण सूचीमा नेपाल थिएन । नेपालका तर्फबाट आग्रह भएपछि भारतले सूचीमा राख्ने आश्वासन दिएको छ ।

गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकारले त्यस्तो सूचीमा पार्न आग्रह गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यसले नेपालको पर्यटनमा फाइदा पुग्ने बताए । भारतले अन्य मुलुकबाट पनि नेपाल प्रवेश गर्न सक्ने सुविधासमेत उपलब्ध गराउन लागेको छ ।

चीनले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै आएको  छ । नेपालको आग्रहबिनै चीनले दुई वर्षअघि सूचीमा नेपाललाई राखेको थियो । चिनियाँ कर्मचारीको नेपाल भ्रमणमा रुचि बढ्ने र युरोप अमेरिकाभन्दा सस्तो पनि हुने भएपछि उनीहरूको नेपाल मोह बढेको थियो । अघिल्लो वर्ष मंसिर र पुस महिनामा चीनका करिब पाँच सय सरकारी अधिकारीले नेपालको भ्रमण गरेको जानकारी परराष्ट्र मन्त्रालयसँग छ । अनौपचारिक रूपमा पर्यटक भएर आउनेहरूको सूची भने सरकारसँग हुँदैन ।

परिणाम चाँडै देखिनेछ : महत

दिल्लीमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर फर्केका परराष्ट्रमन्त्री महतले बैठक सफल र उपलब्धिमूलक रहेको बताए । ‘विगतमा भएका सम्झौता, आयोजना एवं सहयोगको कार्यान्वयनमा भारतीय पक्षबाट पनि सकारात्मक जवाफ पाएका छौं, यसको परिणाम चाँडै देखिन्छ,’ उनले भने ।

विगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकेका कैयौं आयोजना र सम्झौता कार्यान्वयनका लागि दुवै पक्षबाट जुटेको सहमतिको माइन्युटमा हस्ताक्षर गरिएको पनि उनले बताएका कान्तिपुरमा खबर छ । अघिल्लो बैठकमा जस्तै यसपटक संयुक्त वक्तव्य जारी नभएका बारे उनले भने, ‘हस्ताक्षर गरेर माइनुट साटासाट गरिसकेपछि किन आवश्यक रह्यो र संयुक्त वक्तव्य ?’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com