बहुप्रतिक्षित मार्जिन ट्रेडिङ कार्यविधि पारित, के हुन्छ लगानीकर्तालार्इ फाइदा ?


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

लामाे समयदेखि बहसकाे विषय बनेकाे मार्जिन ट्रेडिङ कार्यविधि अन्ततः पारित भएकाे छ ।

पुँजी बजारका लगानीकर्ताले उक्त कार्यविधिलार्इ लामाे समयदेखि प्रतीक्षा गरिरहेका थिए । नेपाल धितोपत्र बोर्डले बिहीबार बसेकाे बोर्ड सञ्चालक समिति बैठकमार्फत उक्त कार्यविधि पारित गरेकाे हाे ।

पुँजी बजारकाे एक मात्र मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत कार्तिकमै ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गर्दै कार्यविधि बनाउन सराेकारवाला निकायलार्इ निर्देशन दिएकाे थियाे ।

कार्यविधि बनाएर सेयर लगानीकर्तालाई ब्राेकरमार्फत नै शेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था बनाउन उक्त निर्देशनमा भनिएकाे थियाे ।

अब कार्यविधि पारित भएसँगै लगानीकर्ताले सेयर किन्दा ब्रोकर मार्फत मार्जिन ऋणकाे सुविधा पाउने भएका छन् । सेयर मार्जिन कर्जा लिन बैंकसम्म धाउनु नपर्ने र ब्राेकर (धिताेपत्र दलाल)काे अफिसबाटै कर्जा लिन पाउने सुविधा लगानीकर्तालार्इ हुनेछ ।

ब्रोकरहरुले नै आफ्ना ग्राहक पहिचान गरी सेयर कारोबार गर्न मार्जिन कर्जा दिन सक्ने धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बताए । नेपालमा यसअघि स्पष्ट कानुनकाे अभावमा यस्तो सुविधा लगानीकर्ताले प्राप्त गर्न सकेका थिएनन् ।

धिताेपत्र बाेर्डद्वारा पारित मार्जिन ट्रेडिङ कार्यविधिकाे कार्यान्वयन भने नेप्सेमार्फत हुनेछ । नेप्से (नेपाल स्टक एक्सचेन्ज) ले आवश्यक व्यवस्था गरी ब्रोकरहरुलाई कार्यान्वयनका लागि विधि र प्रक्रिया तय गर्ने बताइएकाे छ ।

कार्यान्वयनका लागि साे कार्यविधि शुक्रबार नै नेप्सेमा पठाइएकाे बोर्डका अध्यक्ष कार्कीले जनाएका छन् । यसअघि बोर्डले वैशाख १७ गते नै यो कार्यविधि पारित गर्ने जनाएको थियो । तर बोर्ड सञ्चालक समितिका सदस्यहरुले फेरि एकपटक बुँदागत रुपमा अध्ययन तथा छलफल गर्नुपर्ने माग राखेपछि कार्यविधि पारितमा ढिलाइ भएकाे बताइन्छ ।

लगानीकर्तालार्इ के हुन्छ फाइदा ?

कार्यविधिले पुँजी बजार (शेयर मार्केट)का लगानीकर्तालार्इ शेयर धिताे राखेर ऋण लिन सजिलाे हुनेछ । शेयरका लगानीकर्ताको वित्तीय अवस्थाबारे बैंकहरु भन्दा ब्रोकर कम्पनीहरु नै बढी जानकार हुने भएकाले ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई पनि कर्जा जोखिम न्यूनीकरण गर्न सजिलो हुने पुँजी बजारका जानकारहरू बताउँछन् ।

कम्तिमा १० हजार सेयरधनी भएका तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १०% लाभांश वितरण गरेका सूचीकृत कम्पनीको सेयर किन्नका लागि लगानीकर्ताले मार्जिन ऋण ब्राेकरमार्फत प्राप्त गर्न सक्नेछन् ।

सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५०% ले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा ब्राेकरले लिनुपर्नेछ ।

लगानीकर्तालार्इ ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् । यसरी मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति भने कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था उक्त कार्यविधिले गरेकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com