मोदीलाई दिईने उपहारको अझै टुङ्गो लाग्न सकेन


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

काठमाडौँ। काठमाडौंँ महानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंँमा नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पूरा गरेको छ ।

महानगरपालिकाले प्रधानमन्त्री मोदीको सम्मानमा महानगरपालिकाको तर्फबाट वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी दुई दिवसीय राजकीय भ्रमणका लागि वैशाख २८ गते नेपाल आउँदै हुनुहुन्छ । नागरिक अभिनन्दनका लागि महानगरपालिकाको सरसफाइलाई विशेष प्राथमिकता दिन थालेको छ । प्रधानमन्त्री मोदी काठमाडौँमा रहँदा आउजाउ गर्ने सडक वरपरका स्थानका सरसफाइ र रङ्गरोगनको काम भइरहेको महानगरपालिकाको सहायक प्रवक्ता नवराज ढकालले दिनुभयो । याे खबर गाेरखापत्रले लेखेकाे छ ।

महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने स्थान र नागरिक अभिनन्दन गरिने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह बाहिर विशेष स्वागतद्वार निर्माण गर्ने तयारी गरेको छ । त्यसबाहेक १० देखि १२ स्थानमा विभिन्न सङ्घ संस्थाले आ–आफ्नो तर्फबाट स्वागतद्वार बनाउने छन् । राष्ट्रिय सभागृहलाई पनि रङ्गरोगन र मर्मत सम्भार गरेर सिङ्गार्ने क्रम करिब अन्तिम चरणमा पुगेको सहायक प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
नागरिक अभिनन्दनका लागि अपराह्न ३.१५ बजे भारतीय प्रधानमन्त्री मोदी राष्ट्रिय सभागृह पुग्न हुनेछ । महानगरपालिकाले अन्य अतिथि तथा पाहुनालाई २ बजेसम्म नै आसन ग्रहण गराइसक्ने तालिका तयार गरेको छ ।

सभागृहमा पुगेपछि मोदीलाई केही क्षणका लागि अति विशिष्ट कक्षमा लगिनेछ । त्यहाँ सामान्य चियापनपछि उहाँ सभागृह हलमा जानुहुनेछ । त्यस अवसरमा स्वागत गीत र केही कला प्रदर्शनीबाट उहाँलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उहाँलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट अभिनन्दनपत्र हस्तान्तरण गरिनेछ । साथै, महानगरपालिकाको तर्फबाट उपहार प्रदान गर्ने कार्यक्रम छ । तर, के उपहार दिने भन्ने विषयमा महानगरपालिकाले अझै टुङ्गो भने लगाइसकेको छैन । त्यस अवसरमा प्रधानमन्त्री मोदीले आमनागरिकलाई सम्बोधन गर्ने कार्यतालिका छ । सभागृहभित्र गरिने नागरिक अभिनन्दनमा करिब ५२५ देखि ५५० जनासम्मको उपस्थिति रहने महानगरपालिकाले जनाएको छ । सभागृहभित्रको हलको क्षमता जम्मा ५३२ जनाको छ ।

नागरिक अभिनन्दनमा प्रदेश ३ सङ्घीयसभाका मुख्यमन्त्री, सासंद, काठमाडौंँ महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न कूटनीतिक नियोगका प्रमुख, राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्व, विभिन्न सार्वजनिक संस्थाका प्रमुख, महानगरपालिकाका उच्च पदस्थ कर्मचारी र पास उपलब्ध भएका सञ्चार माध्यमका प्रतिनिधि सहभागी हुने सहायक प्रवक्ता ढकालले बताउनुभयो । नागरिक अभिनन्दनपछि सोही दिन भारतीय प्रधानमन्त्री स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com