जेलमा मृत्युदण्ड कुरिरहेका श्रीमान भन्छन्, ‘पर्खि बस, फर्कि आउनेछु’


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

जेलमा मृत्युदण्ड कुरिरहेका श्रीमान भन्छन्, ‘पर्खि बस, फर्कि आउनेछु’

 

मेरो नाम धनिसा सिंह हो ।

मेरो माइती घर दार्चुलाको मार्मा गाउँपालिका हो । म १४ वर्षकी छँदा दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ४ धारीका अमर बमसँग मागी विहे भयो । जसोतसो गर्दा पेटभर खान पुग्ने आर्थिक अवस्था थियो । धन कमाउने र सु:ख पाउने लालसामा श्रीमानले विदेश जाने योजना बनाए ।  विहे भएको २० दिनमै भारत गए ।

धनिसा

जीवन सोचेजस्तो त कहाँ हुँदो रहेछ र ? कहाँबाट हुरी आयो कहाँ पुर्‍याइदियो–सपना सबै । सपना थियो खुशीको संसार बसाउने –म, उनी अनि हाम्रा भन्ने ।

विहे गरेको एक महिना नबित्दै बिछोडियौं, अभाव टार्नका लागि र खुशी अनि सुखका दिन सम्झेर । अहिले १५ वर्ष भयो एक अर्काको मुखै समेत देख्न नपाएको ।

विहे पछि म र परिवार पाल्नु थियो अमरलाई । त्यसैले उनी मलाई छोडेर धन कमाउन गए छिमेकी मुलुक भारत । के गर्नु स्वदेशमै रोजगारी नपाइने । साँझ बिहान हातमुख जोर्नका लागि काम गर्नै पर्ने । स्वदेशमै रोजगार नपाइएकाले उनी दिल्ली गए ।

विहे अगाडि चिनजानसमेत नभएका अमर विहे गर्दा पनि बिरानै थिए मेरा लागि । एक अर्काको मन नबुझ्दै, चाहाना नबुझ्दै टाढियौं हामी । विहे गर्दाकाबखतको उनको अनुहार यादै छ । त्यही अनुहारको झ–झल्को आइरहन्छ । अब त कस्तो भए होलान् खोई ?

दिल्ली गएका अमरले गाडी चलाउने काम गर्थे । ४ महिनासम्म त दिल्लीमै राम्रो थियो । तर अमरले अझै राम्रो काम गर्ने र पैसा धेरै कमाउने आसा राखेपछि उनी भारतकै एक साथीको लहलहैमा लागेर दुवै पुगेका रहेछन् । हामी घर परिवारलाई त थाहा समेत नदिएर । उनले दुबैबाट खबर गरे कि उनी त धेरै पैसा कमाउन दुबै गए रे ।

अमरका अनुसार यूएई पुगेको तेस्रो दिन दुबईस्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका उनलाई बाहिर बस्न लगाएका थिए । ती भारतीय नागरिक उक्त क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरे । हत्यापछि ती दुई जनालाई यूएईको सारजाहस्थित पोर्टसम्म छोड्न पुगेका अमर भाषा र अन्य ठेगानाको अज्ञानताका कारण पक्राउ परे ।

हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले ज्यान मुद्दा दायर गरी जेल जीवन हुँदै सन् २००७ मा मृत्युदण्डको सजाय सुनायो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुबई अदालतले अभियुक्त मनोज करन र अमरलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । सोही फैसलालाई यूएईको सुप्रिम कोर्टले पनि पास गरिदियो । तर घटनामा अमरको कुनै हात छैन रे । उनलाई फसाइएको हो रे ।

आज आउँछन्, भोली आउँछन् भन्ने आसैआसमा बिते कैयौं दिन, महिना अनि वर्षहरू । गाउँमा नयाँ मान्छे आउँदा कतै अमर नै आए कि भन्ने लाग्छ । थाहा छैन उनी आउँछन् कि आउँदैनन् । तर यी आँखाले अँझै पनि उनी आउने लालसामा हरेक दिन बाटो कुरिरहन्छन् ।

छिमेकीले पोइल जा भन्छन्

१५ वर्षसम्म श्रीमान आउने पर्खाइमा बसेकी छु । छिमेकी र आफन्तले उसलाई कुरेर के गर्छेस्, विहे गर भन्छन् । १४ वर्षमा विहे गरेकी म अहिले ३० वर्ष पुग्न लागेँ ।

तल्लाघरे, माथ्लाघरे नन्द, जेठानीहरूले मरिसकेको मान्छेलाइ किन कुर्दै बसेकी भन्दै अनेक कुराहरू गर्छन् । कतिले हासेर उडाउछन् । कतिपयले सहानुभूति प्रकट गर्छन् ।

पराईको जेलमा, त्यो पनि मृत्युदण्डको सजाय सुनाइएको व्यक्ति घर फर्किन्छन् र मलाई माया गर्छन् भन्ने झिनो आसा छ । लोग्नेको माया के हो ? उ कस्तो हुनुपर्छ ? लोग्ने मान्छेले श्रीमतीलाई गर्ने माया कस्तो हुँदो हो ? गर्भवती, सुत्केरी र आमा हुँदाको अनुभव कस्तो हुन्छ होला ? अनुभव गर्नै पाइएन । सँगैका साथीहरूले श्रीमानको न्यानो माया पाएको देख्दा आफ्नो त भाग्य मै खोट रहेछ भन्ने लाग्छ । छोराछोरीको सुख के हो थाहै छैन ।

‘कुन दिनमा मर्‍यो भन्ने सुनिन्छ होला । तेरो त जिन्दगी लामो छ । भोली बुढी भएपछि तलाइ कसले हेर्छ । कोहि राम्रो मान्छे भए विहे गर्दा हुन्छ ।’ यस्तै यस्तै कुरा गरिरहन्छन् मान्छेहरू ।

पर्खि बस भन्छन्

१५ वर्ष अघि ‘पर्खि बस्नु, फर्केर आउनेछु’ यही शब्द भनेर छुट्टिएका अमर अहिले पनि जेल भित्रबाटै फोन गरेर यहि कुरा भन्छन् । म बाँचेछु भने एक न एक दिन हाम्रो भेट अवश्य हुन्छ भन्छन् ।

          अमर बम

तिमी पर्खि बस्नु । समाजले के भन्छ, कसले के भन्छ, त्यसको पछाडि नलाग्नु । कसैको कुरा नसुन्नु भन्छन् । यस्तै कुरा गर्छन् र पो फेरि आफैलाई समहाल्न गाह्रो पर्छ मलाइ ।

अहिले महिनामा २ पटक कुरा हुन्छ । दुबैमा मृत्युदण्डको फैसला सुनाइएकाहरूलाई हरेक शुक्रबार मृत्युदण्ड दिइने रहेछ । त्यसैले मृत्युदण्ड कुरिरहेका अमर पनि शुक्रबार कतै मेरो पालो पो आउँछ कि !

त्यसो भयो भने तिमीसँगको कुराकानी यत्ति नै पो हुन्छ कि’ भन्छन् । आत्तिछन् । जेलबाट मलाई सम्झाउने कोशिस गरिरहेका हुन्छन् । ‘भाग्य दाहिने भो र इश्वरले पुकार सुनेछन् भने म छुट्नेछु । म गर्दै नगरेको अपराधको भागीदार हुनेछैन ।’ भन्छन् ।

अमर फर्केर आउन् भनेर अहिलेसम्म १०० जति बोका देवी देवतालाई चढाइसकेँ । अझै भाकलका लागि बोका पालेर राखेकी छु । मान्छेले नसुनेको कुरा देवताले सुन्छ भन्थे । तर मेरो प्राथना त देवी देवताले अहिले सम्म पनि सुनिदिएनन् ।

भैंसी, बाख्रा पालेकी छु । दूध बेच्छु । खसी बोका बेच्छु । अहिले, त्यसैबाट जीवन निर्वाह गरिरहेकी छु । घरखर्च आफै गर्नुपर्छ । घरमा सानो देवर, म र सासू ससुरा मात्रै छौँ । घरको ठूलो मान्छे भनेकै अमर थियो ।

अमर छैन त शून्य जस्तै छ । मलाइ यो घर, यो गाउँ, यो ठाउँ सबै बिरानो छन्, अमरको अनुपस्थितिले । काठमाडौं–धनगढी ससुरा र म नै कति पटक पुग्यौँ । सबै मन्त्रालय धाइसक्यौँ हाम्ले । अब त थाकिसक्यौँ । के हुन्छ केही थाहा छैन । सायद नेपाल सरकारले पनि मेरो श्रीमानलाई बचाउन सक्दैन ।

किनकी नेपाल सरकारले पनि पहल त गरेकै हो उनलाई निर्दोष साबित गराउनका लागि । तर अहिलेसम्म पहल गरे अनुसारको सकारात्मक परिणाम आएको छैन ।

मान्छेबाट हुन सक्ने सबै बिधी अपनाइसक्यौ । इश्वर पुकार्दा पुकार्दै थाकिसक्यौ । अब जे गर्छन् इश्वरले नै गर्छन् । यस्तै सोच्छु, सम्झिन्छु र चित्त बुझाउछु । उनकै पर्खाइमा छन् आँखाहरू ।

(दुबैइको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका दार्चुलाका अमर बमकी श्रीमती धनिसासँग महिला खबरका लागि इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com