मुस्ताङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

केदार दाहाल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ क्षेत्र भ्रमणको क्रममा मुस्ताङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाउने निर्णयबाट सरकारपछि हटेको छ । पर्यटन व्यवसायी तथा सर्वसाधारणको चर्को विरोधपछि मन्दिर परिसरमामात्र प्रतिबन्ध लगाउने अर्को निर्णय जिल्ला प्रशासन कार्यालयले सोमबार अर्को निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले मन्दिर दर्शनमा भने दुई दिनको प्रतिबन्ध लगाउने निर्णय यथावत भने राखेको छ ।

मुस्ताङ जिल्ला प्रशासनले वैशाख २३ गते जिल्ला सुरक्षा समितिको बैठकबाट वैशाख २८ र २९ गते रोक लागाउन जिल्लाभर सर्कुलर जारी गरेको थियो । कार्यालयले मनाङ जिल्लाबाट थोरङ्लापास हुदैं मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने जाने पदयात्रीलाई रोक लगाएको थियो । यस्तै, मुक्तिनाथको दर्शनको लागि वेनी जोमसोम हुदैं आउने यात्रुहरू एवं हेलिकप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुलाई समेत दुई दिन रोक लगाउने निर्णय गरेको थियो ।
कार्यालयले मनाङ जिल्लाबाट थोरङापास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने जाने पदयात्रीलाई फुकुवा गर्दै अन्य प्रतिबन्ध भने याथावत राखेको छ । पदयात्रामा जाने पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गर्न भने पाउने छैनन् ।

पर्यटन व्यवसायीहरूले सामाजिक सञ्जालमार्फत पनि विरोध गरिरहेका छन् । नेपाल भ्रमणमा आउने पर्यटकले वर्षौंदेखिको योजना बनाएर आउने तर यसरी अचानक प्रतिबन्ध लगाउने निर्णयले विश्वभर नकारात्मक सन्देश जाने भन्दै निर्णय पुनर्विचार गर्नसमेत सरकारसँग माग गरेका थिए ।

पर्यटन व्यवसायीका अनुसार दुई दिन उक्त क्षेत्रमा जान प्रतिवन्ध लगाउँदा उक्त क्षेत्रको भ्रमणमा रहेका १ हजार भन्दा बढी युरोपेली तथा अमेरिकी पर्यटकले भ्रमण रद्द गरेर फर्कनु पर्ने अवस्था आएको थियो । “कुनै पनि देशका प्रधानमन्त्री भ्रमणको समयमा सुरक्षा दिने काम सरकारको हो, सुरक्षाको नाममा हजारौ पर्यटकको भ्रमण रद्द गर्नुपर्ने अवस्था सिर्जना गर्नु लज्जस्पद हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुरागाइँले भने । दुई दिन बन्द गर्दा पर्यटकले भ्रमण रद्द गर्नुपर्ने, बीचबाटो बाटै फर्कनुपर्ने गर्दा दीर्घकालसम्म नेपालको नराम्रो समाचार प्रचार हुने भएकोले सरकारले पुनर्बिचार गर्नुपर्ने गुरागाइँले बताए । पदयात्रीलाई केही खुल्ला गरे पनि मन्दिरपरिसरमा रोक्नु गलत भएको गुरागाइँले बताए ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल भन्छन्, “हामीले पर्यटन मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय लगायतमा विरोध गरेपछि अहिले संशोधन भएको छ ।” पदयात्रीलाई समेत रोक्ने निर्णय गलत भएकोले आफूहरूले विरोध गरेको र अहिले केही संशोधन भएको समेत दाहालले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com