धर्मगुरु श्रीनिवासाचार्य गोलीकाण्ड प्रकरण : स्वतन्त्र छानविन गर्न कमल थापाको माग
प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार
धर्मगुरु श्रीनिवासाचार्यको गोलीकाण्ड प्रकरणमा स्वतन्त्र छानविन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस प्रकरणको गाम्भिर्यतालाई दृष्टिगत गर्दै अध्यक्ष थापाले सरकार समक्ष स्वतन्त्रत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
थापाले प्रहरीले दाबी गरे अनुसार धर्मगुरु आचार्य श्रीनिवासले आफूमाथि आक्रमण गर्न लगाएको भने सो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य भएको जिकिर गरेका छन् ।
उनले लेखेका छन्,
धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ।यदि सत्य हो भने, श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ।बिषयको गांभिर्यतालाई दृष्टिगत गर्दै सरकारले स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दछु ।
विराटनगरमा गोली लागेर घाइते भएका धर्मगुरु श्रीनिवासाचार्य सोमबार भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका थिए।
गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।
तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए ।
उनकै योजनामा गोली हान्ने, पेस्तोल उपलब्ध गराउने र त्यसको तयारीमा लाग्ने ३ युवकलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान, सन्तोष भनिने लक्ष्मीराज अधिकारी र चितवनकै माधव चौधरी पक्राउ परेका छन् । चौधरी आचार्यका अंगरक्षक समेत हुन् ।
आचार्यलाई गोली प्रहार गर्ने उनकै अंगरक्षक चौधरी भएको समेत खुलासा भएको छ । अंगरक्षकलाई नै आफुमाथि गोली प्रहार गर्न आचार्यले लगाएको प्रहरीको दाबी छ । पेस्तोल र गोलीको व्यवस्थापन भने नवलपरासीका ३२ वर्षीय खान थरका युवक र लक्ष्मीनाथ अधिकारीले गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार गोली प्रहार गर्नका लागि अधिकारीले चौधरीलाई तालिम समेत दिएका थिए ।
उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।






