मोदी आउने भएपछि मुस्ताङमा ‘नाकाबन्दी’


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

गत वैशाख २३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ ।

शाखा अधिकृत जितेन्द्र बलामीले जारी सूचनामा प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकाले सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो बनाउन यात्रुहरुको आवागमनमा रोक लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, मनाङ जिल्लाबाट थोरङला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरुलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय भएको साथै मुक्तिनाथ दर्शनका लागि बेनी जोमसोम हुँदै आउने यात्रुहरु एवम् हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुहरुलाई यही वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको हुँदा सोही अनुसार गर्नु–गराउनुहुन अनुरोध छ ।’

जिल्ला स्थित राजनीतिक दलका एक नेताले भने -भारतीय प्रधानमन्त्री आउने र उहाँको स्वागत गर्ने कुरा आफ्नो ठाँउमा छ । जिल्लाभरका नाका बन्द गरेर राम्रो भएन । यो त अघोषित नाकाबन्दी जस्तै भयो ।’

मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको छ ।

काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको छ ।

मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् ।

वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन् ।

मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

मन्दिरभित्र मोदीलाई बटुकले स्वागत र सम्मान दिनेछन् ।

पूजापाठ अघि नै उन नागरिक अभिनन्दनको तयारी भइरहेको छ ।

उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।

यद्यपि, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने जिल्ला भरी प्रवेशमा रोक नलगाइएको र २९ गते भारतीय प्रधानमन्त्री मुक्तिनाथ दर्शनका लागि आउने भएका कारण दुई दिन त्यहाँको तयारी गर्न मन्दिर प्रवेश गर्न मात्र रोक लगाइएको बताए ।

‘सूचनाको भाव त्यस्तो देखिए पनि जिल्लामा प्रवेश रोक लगाइएको होइन,’ उनले भने, ‘तयारीका लागि मात्र यो सूचना जारी गरेको हो ।’

राससका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।

उनको सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com