महाअभियोगपछि शीर्ष नेता एक ठाउँमा


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमा नै पारित गराउने निष्कर्षसहित संविधान कार्यान्वयन, संशोधन र स्थानीय तहको निर्वाचन सहमतिकै आधारमा गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच बुधबार साँझ भएको छलफलमा महाअभियोग प्रस्ताव पारित गराउनेदेखि संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनका विषय पनि सहमतिका साथ अघि बढाउने सहमति बनेको हो । सरकार परिवर्तनको खेलका कारण आपसमा टाढिएका दलहरू अख्तियार प्रमुख कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्तासँगै सत्तारूढ तथा प्रतिपक्षी दुवै पक्ष एक ठाउँमा आइपुगेका छन् ।

अघिल्लो सरकार विघटनसँगै चिसिएको माओवादी केन्द्र र एमालेको सम्बन्धमा समेत सुधार भएको छ । महाअभियोगकै कारण निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सत्तारोहणपछि पहिलोपटक तीन दलको बैठकमा सहभागी हुन बुधबार बालुवाटार पुगेका छन् । यसअघि पनि थुप्रैपटक बालुवाटारमा तीन दलीय बैठक हुने गरे पनि निर्णायक नभएका कारण ओली सहभागी हुने गरेका थिएनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बोलचालसमेत बन्दजस्तै अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकमा सहमतिमै महाअभियोग प्रस्ताव पारित गराउने र योसँगै संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतका विषय पनि प्याकेजमै सहमति गर्ने गरी छलफल भएको छ । तीन शीर्ष नेताहरू नै महाअभियोग प्रस्ताव सहमतिमा नै पारित गराउन सहमत बनेका छन् । सोहीअनुसार संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने विषयमा पनि सहमति खोज्ने र स्थानीय तहको निर्वाचन मितिसमेत तोक्ने गरी छलफलमा जुटेका हुन् ।

महाअभियोग प्रस्ताव सहमतिमा नै पारित गर्न, संविधान संशोधन गर्न र स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्याकेजमा नै सहमति गर्न शीर्ष तीनै नेता सहमत भए पनि कसरी गर्ने र कहिले गर्ने भन्ने विषयमा भने सहमति जुट्न बाँकी छ । प्याकेजमा नै सहमतिका लागि पुनः बैठक बसेर सहमति खोज्न तीनै नेता सहमत भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको राजधानीमा खबर छ ।

बैठकपछि एमाले अध्यक्ष ओलीले बैठकमा मुख्य चार विषयमा छलफल भएको जानकारी दिए । ‘संविधान संशोधन, आन्दोलनरतहरूको मागको सम्बन्धमा संविधान संशोधन, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन र महाअभियोगको विषयमा शीर्ष तहमा छलफल भयो,’ ओलीले भने, ‘यो विषय कसरी गर्ने र कहिले गर्ने भन्नेमा अर्को बैठकमा छलफल गरेर निर्णय गर्ने सहमति भएको छ ।’

कांग्रेसका सभापति देउवाले पनि बैठकमा महाअभियोग पारित गर्ने विषयमा छलफल भएको बताए । शीर्ष नेताहरूबीचको बैठकमा महाअभियोगका विषयमा छलफल केन्द्रित भयो,’ बैठकपछि बाहिरिने क्रममा देउवाले भने, ‘हामीले यस विषयमा अहिले नै निर्णय गरिनसकेको र अब चाँडै बैठकबाट निर्णय हुने जानकारी गराएको छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com