वैदेशिक रोजगार : पारिवारिक विखण्डनको कारक को ?


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

महिला खबर–

उमा पौडेल–
सिन्धुपाल्चोककी आशाले ६ वर्ष अगाडि अभिषेक तामाङसँग प्रेम विवाह गरिन् । विवाहपश्चात पारिवारिक जीवन राम्रो थियो । उनीहरूको छोरी जन्मिइन् ।

घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले विहेपछि तामाङ दम्पत्तीले कमाउने विकल्प वैदेशिक रोजगारी रोजे । घर सल्लाहमा अभिषेक वैदेशिक रोजगारीमा जाने निर्णय भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आशाले विगत सम्झिईन्, ‘मलाई र तीन वर्षकी छोरीलाई छाडेर हिँड्नेबेला श्रीमान् धुरुधुरु रोएका थिए ।’ २७ वर्षकी आशा र अभिषेकको छोरी अहिले ५ वर्षकी भइन् ।
२०७३ सालमा कमाउन मलेसिया गएका श्रीमान्सँग आशाको ३ महिनाजति सम्बन्ध राम्रो नै चल्यो । अभिषेक बेलाबेलामा पैसा पठाउँथे । दैनिक फोन गर्थे ।
श्रीमानले विदेशबाट कमाएर ल्याएपछि चिटिक्क परेको घर बनाउने अनि व्यवसाय गर्ने सपना थियो आशाको । तर विस्तारै टाढिंदै गए अभिषेक ।

उनी भन्छिन्, ‘दैनिक नभए हप्तामा एकपटक आउने फोन महिना दिनमा मुस्किलले आउन थाल्यो । छोरी र मेरो खानपान, स्वास्थ्यको बारेमा सोधिरहने श्रीमान्ले झर्किएर बोल्न थाले । परपुरुषसँगको सम्बन्धको आक्षेप लगाउन थाले ।’
अचानक श्रीमानको व्यवहार परिवर्तन भए पछि उनी चकित भईन् । तर पनि श्रीमान पहिलेको झैं हुन्छन् भन्नेमा ढुक्क थिईन् । ३ वर्षे श्रम सम्झौतामा कमाउन गएका श्रीमान पूरा समय कमाएर आउँछन् भनेर आशा कुरिरहेकी थिईन् ।

मलेसिया उडेको डेढ वर्ष पनि नहुँदै अभिषेक दशैंको टीकाको दिन अचानक घर आइपुगे । त्यो पनि एक्लै होइन अर्की श्रीमती लिएर ।
अर्की श्रीमती लिएर आएका अभिषेकले आशामाथि अनावश्यक लाञ्छना लगाए । कुटपिट गरे । आशा भन्छिन्, ‘अर्की श्रीमती ल्याए पछि त झन घरबाट निकाल्न पटक–पटक दबाब दिन थाले ।’

उनले श्रीमान् र दोस्रो विवाह गरेकी श्रीमती मिलेर दिनहुँ कुटपिट गर्न थालेपछि सहनै नसकेपछि २०७४ चैत्र २० गते अंशसहित सम्बन्ध बिच्छेदको माग गरी जिल्ला अदालतमा मुद्धा दर्ता गराएको बताईन् ।

अदालतले अंशस्वरुप ७ लाख रुपैयाँ पाउने निर्णयसहित सम्बन्ध बिच्छेदको फैसला गरिदियो । आशा अहिले माइतीको आश्रयमा छिन् । उनले केही व्यवसाय गरेर छोरी पढाउने योजना सुनाईन् ।

सिन्धुली झाँगाझोलीकी मुनाका श्रीमान पनि कमाउन विदेश नजाँदासम्म सम्बन्ध राम्रो थियो । उनले २०५८ सालमा २ लाख रुपैयाँ ऋण गरेर श्रीमान् आकाशलाई विदेश पठाईन् । कमाउन भनेर नेपालबाट कतार गएका श्रीमान विस्तारै टाढिए ।

१२ वर्षकी छोरी र १० वर्षका छोराका बुवा आकाशले विदेश गए पछि दुई सन्तान र श्रीमतीसँग सम्पर्क कम गर्न थाले । पैसा कमाएर पठाउनु त परको कुरा आफू विदेश गएको ऋण समेत तिरेनन् ।

मुनाले आकाशलाई विदेश पठाउँदा लागेको २ लाख रुपैयाँ ऋण मध्ये केही मजदुरी गरेर तिरिन् । केही रकम तिर्न माइतीले सहयोग गरे ।
आकाश २०६९ चैत्रमा नेपाल फर्किए । विदेशबाट फर्किएपछि मुनालाई यातना दिन थाले । मुनाका अनुसार आकाशले कुटपिट गर्ने, मानसिक तनाब दिने गर्न थाले ।

श्रीमानको यातना बढ्दै गएपछि ३१ वर्षकी उनले २०७३ साल फागुन १८ गते जिल्ला अदालत सिन्धुलीमा सम्बन्ध बिच्छेद सहित अंश मुद्धा दर्ता गराईन् ।
अदालतले २०७४ पौष २४ गते उनको मुद्धा फैसला गर्यो । उनले ७ कठ्ठा खेत र १० धुर घडेरी पाउने गरि अदालतले फैसला गरेको हो ।
तर अंश बण्डा कार्यान्वयन भने बाँकी छ । मुना २ छोराछोरीसहित श्रीमान्को घरमा बस्दै आएकी छिन् ।

उनका श्रीमान आकाश भने अर्की श्रीमतीसहित जिल्ला बाहिर बसेका छन् । ‘श्रीमान् अर्की श्रीमतीको साथ कहाँ छन् मलाई थाहा छैन’ मुनाले भनिन्, ‘आफूले कति सम्पति पाउने टुंगो लागेपछि आफ्नै सुरले छोराछोरीसहित बस्छु ।’

दुधौली नगरपालिकाका सुजना बस्नेतका श्रीमान् २०६५ सालमा कमाउन मलेसिया गए । मलेसिया गएको ६ महिना नबित्दै श्रीमान्ले एक्कासी फोनबाटै घरबाट निस्किन दबाब दिए । परिवार धान्दै आएकी सुजनाले सुरुमा त श्रीमानले किन यस्तो व्यवहार गरे बुझिनन् ।
उनले पैसा पठाउन पनि छाडे ।

श्रीमानको घर छोड्ने धम्की, गाली गलौज सहँदै ३ वर्ष कटाईन् । ३ वर्षपछि मलेसियाबाट फर्किएपछि पो सुजनाले श्रीमानको व्यवहार परिवर्तन हुनुको कारण बुझिन् । किनकी ३ वर्षपछि मलेसियाबाट फर्किदा उनी एक्लै आएनन् ।

विदेशमा सँगै काम गरेकी निशा निरौलालई श्रीमती भन्दै हाकाहाकी घर ल्याए । २०६८ सालमा सुजना घरमा हुँदाहुँदै निशालाई भित्र्याए ।
‘विदेशबाट श्रीमतीसहित भित्रिएका श्रीमान्को कुटपिट, गाली गलौज सहन नसकेर सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेकी छु’ आशाले भनिन्, ‘सम्पतिको कुनै लालच छैन । आफ्नो परिश्रमले खान सक्छु । मात्र यिनको शोषणबाट छुटकारा पाए हुन्थ्यो ।’

२०७४ चैत ९ गते सम्बन्ध बिच्छेदको मागसहित उनले जिल्ला अदालत सिन्धुलीमा मुद्धा दर्ता गरेकी छिन् । कानुनले निर्णय दिएपछि आफ्नो ईच्छा अनुरुप जीवन निर्वाह गर्ने बस्नेतको सोच छ ।

सिन्धुलीको जिल्ला कानुनी सहायता कार्यालयमा चालु आर्थिकको १० महिनामा ११ जना महिलाले श्रीमान विदेशिए पछिको बहुविवाहको उजुरी गरेका छन् ।

जिल्ला कानुनी सहायता कार्यालयका अधिवक्ता प्रविण हायुका अनुसार आजभोली आउने धेरैजसो मुद्धा विदेश गएका श्रीमानबाट हिंसामा परेका महिलाका हुने गरेका छन् ।

कतिपय विदेश गएका पुरुषहरूले आफू अविवाहित भन्दै विदेशबाटै नेपाली महिलालाई श्रीमतीका रुपमा भित्र्याउने गरेका छन् । कतिपय विदेश गएपछि घर नै नफर्की काठमाडौं वा अरु ठाउँमा बस्दै आएका छन् ।

श्रीमान्ले वेवास्ता गरेपछि महिलाहरूलाई परिवारका अन्य सदस्यहरूले पनि हिंसा गर्न थाल्छन् । ‘परिवारबाटै हिंसा बढेपछि अंशसहित सम्बन्ध विच्छेदको माग गर्दै महिलाहरूले मुद्धा दर्ता गराउने गरेका छन्’ अधिवक्ता हायु भन्छन् ।

पछिल्लो समय विदेशिएका श्रीमानका श्रीमतीहरूले परिवारको संरक्षण नगरेको, सम्पत्ती हिनामिना गरेको आरोप बढी सुनिने गरिन्छ । पारिवारिक विखण्डनको कारक महिलालाई नै देखाउने गरिएको छ । विदेशिएका श्रीमानबाट महिलाले भोगेका हिंसा दोब्बर बढी भए पनि कम चर्चा हुने गरेको छ ।

अधिकारकर्मी सविता कोईराला भन्छिन्, ‘महिलाको तुलनामा पुरुषहरू बढि वैदेशिक रोजगारमा जान्छन् । घरमा केही समस्या भयो भने दोष महिलालाई थोपरिन्छ । त्यसैले महिलालाई पारिवारिक विखण्डनको कारकका रुपमा व्याख्या गरिएको हो ।’
उनका अनुसार श्रीमान विदेशिएपछि महिलाले दोहोरो मानसिक दबाब भोग्नुपर्छ । कसैसँग बोल्न पाउँदैनन् । नकारात्मक टिप्पणी भइहाल्छ ।

‘संचारमाध्ययममा सुचनाहरू बज्छन्, विदेश जाँदै हुनुहुन्छ भने ख्याल राख्नुस्, सुरक्षित यौनसम्पर्कको लागि एक मात्रै साधन कण्डम भनेर । पुरुषलाई चाहिँ विदेशमा सुरक्षित भएर यौन सम्पर्क गर भनेर सार्वजनिक आह्वानै गरिन्छ ।’ कोइराला थप्छिन्, ‘तर नेपालमा कुनै महिला पुरुषसँग बोलेको देख्यो भने उनलाई फलानोसँग लागिछ भनेर अनेक किसिमका लाञ्छना लगाइन्छ ।’

महिलाहरू हिंसामा परे पनि प्रहरीमा जाने दर भने निकै कम छ । नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा चालु आर्थिक वर्षमा विदेशिएका श्रीमानले अर्को विवाह गरेको भन्दै एउटा मात्रै उजुरी दर्ता भएको छ ।

केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सोभा पाण्डे भन्छिन्, ‘समाजमा विदेशिएका श्रीमान्कै कारण महिलाहरूले विभिन्न हिंसा भोग्नुपरे पनि यस्ता घटनाहरू प्रहरी, प्रशासनमा निकै कम मात्रै आउने गरेका छन् ।’

विदेशबाट फर्किएपछि आफूलाई वेवास्ता गरेको भन्दै चालु आर्थिक वर्षको १० महिनामा महिला तथा बालबालिका कार्यालय सिन्धुलीमा ३ जना महिलाले उजुरी गरेका छन् ।

महिला तथा बालबालिका कार्यालय सिन्धुलीका सहायक महिला विकास निरीक्षक साबित्रा रेग्मी भन्छिन्, ‘महिला बालबालिका कार्यालय मार्फत गठन भएका विभिन्न महिला सहकारीहरूमा पनि यस्ता घटनाहरू आउने गर्छन् । तर महिलाहरू ईज्जत जाने डरले गर्दा समुदायमै मिलापत्र गर्छन् ।’

हिंसा बढेर चरम रुप लिएपछि भने महिला सम्बन्ध विच्छेदको लागि सिधै अदालत जाने गरेका उनले बताए । सिन्धुलीमा सुरक्षित आप्रवासनका लागि काम गरिरहेको सामी परियोजनाका अनुसार जिल्लाबाट पछिल्लो ७ बर्षयता ४१ हजार २ सय ७ जना वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये २ हजार ६ सय ७२ मात्रै महिला रहेका छन् ।

मनोसामाजिक परामर्शकर्ता सुनिता पोखरेल भन्छिन्, ‘श्रीमान् विदेशिए पछि श्रीमतीले परिवार तथा समाजमा धेरै जिम्मेवारीहरू बहन गर्नुपर्छ । त्यसैले यस्तो बेला उनीहरूलाई धेरै माया, साथ, सहयोगको आवश्यकता हुन्छ । तर, परिवारबाटै भने शंकाको दृष्टिले हेर्दा झनै महिला समस्यामा पर्ने गरेका छन् ।

पोखरेलले पुरुष वैदेशिक रोजगारीमा हुँदा महिलालाई बोझ बढी हुन्छ । अर्कोतिर श्रीमानले बहुविवाह गर्ने, श्रीमतीमाथि शंका गर्ने, कुटपिट गर्ने गर्दा हिंसा गर्ने हुँदा पारिवारिक विखण्डन बढ्दै गएको बताईन् । तर यसको सबै दोष भने महिलाकै थाप्लोमा हाल्नु न्यायोचित हो ?

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com