डा. उपेन्द्रको उपचारबाट पुनर्जीवन पाएका जोशीले भक्कानिंदै भने, ‘भगवान् चमत्कार भैदेओस्’


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

आइतवार दिउसो २ बजेको समय । काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालको तेस्रो तलाको विशिष्ट कक्ष भित्र एकजना पाको मानिस भक्कानिदै रोएको आवाज बाहिरबाटै प्रष्ट सुन्न सकिन्थ्यो ।

त्यो कारुणिक दृष्यले त्यहाँ उपस्थित केही चिकित्सक र सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो ।

विशिष्ठ कक्षमा नेपालका प्रख्यात स्नायुविशेषज्ञ डा. उपेन्द्र देवकोटा उपचार गराइराखेका छन् ।

डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथको चन्दन, रुद्राक्ष र प्रसाद लिएर पुगेका थिए बाग्लुङका प्रेमराज जोशी । डा. देवकोटा बेलायतबाट फर्केपछि दोस्रो पटक अस्पतालमा आएका जोशी देवकोटाको कार्यक्षमै भक्कानिएका थिए ।

आफ्नै सामुन्ने भावविह्वल भएको देखेपछि डा. देवकोटा भन्दै थिए : ‘तपाईहरुको आशिर्वाद लागोस् !’ डा. देवकोटालाई भेटनकै लागि जोशी आइतवार चितवनबाट काठमाडौं आएका थिए ।

प्रेमराज जोशी नेपाल सरकारका कर्मचारी हुन् । तत्कालीन जिल्ला विकास समिति काठमाडौंको प्रमुख (एल्डीओ) रहेका बखत, २०६९ सालमा, ब्रेन ट्युमरले उनको आँखा बन्दै हुने अवस्था आइसकेको रहेछ ।

‘पुनर्जीवनको आशासहित चैत्र २७ गते डा. देवकोटामोमा पुगेंको थिएँ, चैत ३० गते डा. देवकोटाको टोलीले नौघण्टा लगाएर मेरो शल्यक्रिया गरेको थियो’ उनले पाँच बर्ष अगाडिको त्यस दिनको स्मरण गरे ।

‘यही अस्पतालमा १९ दिन बसेर पुनर्जीवन पाएँ, उहाँ मेरो भगवान् सरह हो । डा. देवकोटा नभएको भए म यो संसारमा रहने थिइनँ होला’ न्युरो अस्पताल परिसरमा भक्कानिदै जोशीले लोकान्तरसँग भने ।

हाल चितवनस्थित् भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत (सहसचिव) रहेका जोशीले डा. देवकोटालाई भगवान पशुपतिनाथले चमत्कार गरेर बचाउने विश्वास व्यक्त गरे ।

‘उपेन्द्र देवकोटा नभएको भए म बाँच्न सक्ने थिइनँ, उहाँजस्तो डाक्टर पाउन देशले अर्को शताव्दी कुर्नु पर्छ होला’ जोशीले थपे । बेलायतमा झण्डै ६ महिना लामो उपचार गराएर गत १५ गते शनिवार नेपाल फर्किएका डा. देवकोटालाई भेट्न आइतवार पनि शुभेच्छुको अस्पतालमा भीड लागेको थियो । कलेजो सम्बन्धी जटिल रोगका कारण डा. देवकोटा न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com