रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ ।

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताउनुभयो ।

व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनु पर्ने सुझाब दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढी मुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन् ।

कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार छन् । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com