फोटो हेरेर नझुक्किनुस: यिनी २-४ कक्षाको हैन एसएलसीको परिक्षा दिदैछिन अहिले


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

भनिन्छ मान्छेको कद सानो भएर केही फरक पर्दैन, मनोबल उच्च हुनुपर्छ। ललितपुर लामाटारकी अर्पिता पौडेलको हकमा यो कथन ठ्याक्कै लागू हुन्छ। शारीरिक विकास रोकिए पनि अर्पिताको मानसिक विकासमा कुनै असर छैन। र, उनको मनोबल झनै उच्च छ।

ललितपुर, लुभुस्थित महालक्ष्मी उमाविमा एसएलसी परीक्षा दिइरहेका १४ विद्यालयका २ सय ८० भन्दा बढी विद्यार्थीमध्ये उनी शारीरिक बनोटमा मात्र फरक छिन्, अरु कुनै पनि कुरामा अन्य विद्यार्थीभन्दा केही फरक छैन ।

‘उनको आत्मविश्वासबाट हामी साह्रै प्रभावित भएका छौं, सुविधाभन्दा समान व्यवहार गरियोस् भन्ने उनको चाहना रहेछ,’ केन्द्राध्यक्ष नीलप्रसाद दुलालले नागरिकसँग भने । उनका अनुसार परीक्षा सञ्चालन निर्देशिकाले उनलाई एक्लै परीक्षा दिने र एक घन्टा समय थप्न सकिने सुविधालाई अर्पिताले कुनै महत्व दिएकी छैनन् । ‘नेपाली र आज सामाजिक शिक्षामा आधा घन्टामात्र थप समय मागिन्,’ दुलालले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ललितपुर, महालक्ष्मी नगरपालिका घर भएकी अर्पिता उमेरले १६ वर्षमा छिन् । विसं २०५६ माघ ११ गते जन्मेकी उनको ३ महिनापछि नै स्वाभाविक शारीरिक विकास नभएर औसतभन्दा घट्दै गएको थियो । आमा अनिता पौडेलले अर्पिताको शारीरिक विकास मात्र असामान्य भए पनि मानसिक विकास भने अरुजस्तै सामान्य रहेको बताइन् । ‘गर्नुपर्ने आवश्यक परीक्षण हामीले सबै गरायौं । शारीरिक विकासमात्र भएन, अन्य सबै सामान्य छ,’ पौडेलले भनिन् ।

लामाटारस्थित विद्यापुञ्ज इङलिस सेकेन्डरी स्कुलबाट प्रवेशिकामा सहभागी अर्पिताले सेन्डअपमा ७० प्रतिशतभन्दा बढी अंक ल्याएकी थिइन् । एसएलसीमा अझ राम्रो अंक ल्याउने चाहना उनले सानो स्वरमा बताइन् । उनलाई वाणिज्यशास्त्रमा उच्च शिक्षा अध्ययन गर्ने रुचि छ । ‘ कर्मस पढने हो, बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ,’ अर्पिताले भनिन् ।

अर्पिताको उमेर अनुसार उनको तौल र उचाइ बढेको छैन । उनको उचाइ जम्मा ८० सेन्टिमिटर र तौल जम्मा २२ केजी छ । भाइ र आमाको सहयोगमा परीक्षा केन्द्र आउने जाने गरिरहेकी अर्पितालाई परीक्षाको पहिलो दिन सुविधा अनुसार एक्लै राखिएको थियो । तर उनले आफू अन्य विद्यार्थी सरह सँगै परीक्षा दिने भनेपछि दोस्रो दिनदेखि त्यसै गरिएको केन्द्रले जानकारी दिएको छ ।

‘परीक्षाका बेला हामीले उनलाई स्वभाव शान्त र शालीन पाएका छौं,’ केन्द्रको सुरक्षामा खटिएका प्रहरी प्रभाग लुभुका इन्चार्ज अनिरुद्र भुजेलले भने । विद्यालयका शिक्षक, साथी र आफन्तसँग अर्पिताको एउटै मात्र आग्रह हुन्छ– अरुसरह समान व्यवहार र अवसर दिन । उनी अध्ययनरत विद्यापुञ्जका प्रधानाध्यापक भरत न्यौपानेका अनुसार अर्पिताको हक्कि स्वभाव, मिजासिलो व्यवहार र मेहनती स्वभावका अगाडि उनको शारीरिक बनोट अवरोध नबनेको बताउँछन् । ‘उनी क्षमतावान छिन्, हामी उनले प्रगति गर्नमा विश्वस्त छौं,’ न्यौपानेले भने ।

अर्पितालाई हुर्काउन केही कठिनाइ भए पनि उमेरसँगै उनी समझदार र सहयोगी हुँदै गएको अनिताले बताइन् । ‘उसका बुबा बाहिर, पहिलो सन्तान भएकाले पहिले केही अप्ठेरा दिन थिए । अहिले भने ढुक्क छु,’ अनिताले भनिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com