‘महाभियोगसंग सत्तासमिकरणको साइनो छैन’


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

नेकपा एमालेले संवैधानिक आयोगको पदमा प्रयोग गरेको व्यक्तिले संविधान कानून हातमा लिएर आतंकित पार्ने काम गरेकोले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव लगाउनु परेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावको समर्थन गर्दै एमाले मुख्य सचेतक भानुभक्त ढकालले संवैधानिक निकायको प्रमुख रहेको व्यक्तिले संविधानको धज्जी उडाउने काम गरेकोले महाभियोग लगाउनु पर्ने बताएका हुन् ।

अख्तियारका प्रमुखका अत्याचारी क्रियाकलापले सीमा नाघेका कारण महाभियोग प्रस्ताव ल्याउनु परेको उनले बताए । ‘अख्तियार प्रमुखका क्रियाकलाप शाही शासनका क्रियाकलाप भन्दा चर्का छन्, सबै क्षेत्र ‘तैं चुप मैं चुप’ भएर बस्नुपर्ने स्थितिमा छन्,’ उनले भने । ढकालले सत्तारुढ दलले ल्याएको प्रस्तावको प्रतिपक्षी दलले समर्थन गरेको उल्लेख गर्दै नेपाली कांग्रेसले पनि समर्थन गर्ने विश्वास गरे ।

‘महाभियोग प्रस्तावको सत्तासमिकरणसँग कुनै साइनो छैन, साझा प्रस्तावको रूपमा ल्याएका छौं,’ ढकालले भने । भूकम्पपछि संविधान निर्माणको समयमा राष्ट्रिय एकताको वातावरण बनेको जस्तै महाभियोग प्रस्ताव सकारात्मक र निर्णायक हुने विश्वास व्यक्त गरे । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको समयमा अख्तियार प्रमुखले गरेको पत्रकार सम्मेलनमार्फत दिन खोजेको सन्देश गम्भीर भएको ढकालले बताए ।

अख्तियार दुरुपयोगका प्रमुख कार्कीका अराजक क्रियाकलाप र संविधानको उल्लघन गरेर गरेको ज्यादतिविरुद्ध महाभियोग लगाउनु बाध्य भएको ढकालले बताए । लोकमानलाई महाभियोग लगाएपनि अन्य पाँचजना आयुक्त बाँकी रहेका कारण आयोग प्रभावित नहुने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com