गृहमन्त्रीको निर्देशनपछि सिन्डीकेट पक्षधर यी यातायात ब्यावसायी पक्राउ परे
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
गृह मन्त्रालयले सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न ७७ वटै जिल्लाका सिडियोलाई निर्देशन दिएसंगै यातायात व्यवसायी धमाधम पक्राउ गर्न थालिएको छ ।
गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।
यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।
त्यस्तै गाडी बन्द गर्ने धरानका आधा दर्जन बढी यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।सार्वजनिक सवारी साधन बन्द गराएको अभियोगमा प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायतलाई पक्राउ गरिएको छ ।
त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।
त्यस्तै नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् ।
सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने लगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।