केराको बोट फाँड्ने मुख्य अभियुक्त अझै परार, थप तीन जना पक्राउ


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख २१, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका ६ जुटपानीस्थित किसानको बगानमै पसेर केरा फाँडेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। चितवनका प्रहरी उपरीक्षक दिपक थापाले १० जनाको समूहमा आएका युवाहरुले केरा फाँडेको पहिचान भएको जानकारी दिँदै पुन थप तीनजना पक्राउ परेको बताए। यसअघि बुधबार तीनजना पक्राउ परेका थिए। पक्राउ परेका ६ जनामध्ये पाँचजनाविरुद्ध भने मुद्धा दर्ता हुने थापाको भनाइ छ। पक्राउ पर्नेमा कालिका नगरपालिका ६ का अर्जुन गहतराज, १ का मनिश गुरुङ, ३ का सुजन लोप्चन, ७ का गोपाल परियार र ५ का उमेश माझी रहेको प्रहरीले जानकारी दिएको छ। एकजनाको अनुसन्धान भैरहेकाले नाम खुलाईएको छैन। उनीहरु १९ देखि २८ वर्षसम्मका छन्। अन्य मुख्य भनिएका २ जना भने फरार रहेकाले खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। उनीहरुलाई बुधबार र बिहिबार प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रतननगरले जनाएको छ। ‘अनुसन्धानमा दुई वटा विषय देखिएको छ, प्रहरी प्रमुख थापाले भने, पूर्ण अनुसन्धानपछि कारण खुल्छ।’ एउटा जग्गासम्बन्धीको केही विवाद देखिएको र अर्को सोही क्षेत्रमा केही अघि प्रहरीले लागुऔषध सहितका व्यक्ति पक्राउ परेकाले केरा व्यवसायीले सूचना दिएको भन्ने रिसिइवीमा केरा फाँडेको प्रहरी प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ। अज्ञात समुहले सोमवार राती १२ जना केरा किसानको रु १५ लाख ४७ हजार मुल्य पर्ने ३ हजार ९४ बोट केरा बगानमै पसेर काटी नष्ट गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com