मोदी भ्रमणलाई लक्षित गरी पोखरा र मुस्ताङमा तयारी


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् ।

चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ र वरपरका हिमाली दृश्यले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरेको छ नै, यी स्थल अतिविशिष्ट व्यक्तिको पनि भ्रमणको गन्तव्य बन्दै आएका छन् ।

विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा अघि बढेको छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा पनि बिताउने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरे पछि उहाँ केही समय पोखरा आउने कुरा सँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने भन्ने कुरा आएको छ,” – उहाँले भन्नुभयो । मोदी आउने कुरासँगै भारतीय पेन्सन क्याम्पले वरपरको सरसफाइ गर्न शुरु गरिसकेको छ भने मुस्ताङमा तयारीलाई तीव्र बनाइएको छ ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सदस्य सचिव रहनुभएको सात सदस्यीय समिति गठन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समितिका सल्लाहकारमा बहालवाला सांसद, जिल्ला समन्वय समितिका सभापति, पूर्व सांसद एवं मन्त्री रहनुभएको छ । समितिको संयोजनमा सरसफाइलगायत स्थानीय व्यवस्थापनका काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम शुरु गरिसकेको छ ।

प्रधानमन्त्री मोदी मुक्तिनाथको दर्शन गर्न आउने भएपछि स्थानीयवासी निकै हर्षित बनेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जाानकारी दिनुभयो ।

“भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ,” उहाँले भन्नुभयो, “अतिविशिष्ट पाहुनाको भ्रमण यहाँका लागि महत्वपूर्ण विषय हो ।” मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री मोदी पोखरा आउने विषयले यतिखेर पोखराको सरगर्मी पनि बढेको पाइन्छ ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये आगामी वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नुभएको भ्रमण सबैभन्दा पछिल्लो हो ।

इतिहासका पाना पल्टाउने हो भने यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले भ्रमण गर्नुभएको पोखरामा सन् १९६३ मा भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले पनि यहाँको भ्रमण गर्नुभएको पाइन्छ ।

२०७२ चैत १ गतेदेखि ४ गतेसम्म पोखरामा सञ्चालित सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुनाले निकै अभिरुचीपूर्वक हेरिएको पोखरामा र त्यसको लगत्तै बेलायती राजकुमार ह्यारी २०७३ जेठ ८ गते पोखरा आउनुभएको थियो ।

सार्क मन्त्रिपरिषद्को बैठकमा आएका सार्क राष्ट्रका विशिष्ट पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेका थिए । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भगवानले फुर्सदमा बनाएको ठाउँका रुपमा पोखराको चर्चा गर्नुभएको थियो । राजकुमार ह्यारीको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १९ गते पोखरा आउनुभएको थियो ।

छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको शुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताउनुभएको थियो ।

वैशाख २८ नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनसँगै पोखरामा हुने भनिएको आगमनले समग्र प्रदेश नं ४ कै धार्मिक एवं पर्यटकीय महत्वलाई बढाउने पर्यटन संबद्ध व्यवसायी बताउँछन् ।

विश्वमा नै उदीयमान राष्ट्रका रुपमा रहेको भारतका प्रधानमन्त्रीको यस क्षेत्रको भ्रमणले विश्व पर्यटन बजारमा महत्वपूर्ण स्थान राख्ने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले बताउनुभयो ।

“प्रधानमन्त्री मोदीको यस क्षेत्रको भ्रमण हाम्रा लागि गौरवको विषय हो,” पराजुलीले भन्नुभयो, “उहाँको भ्रमणलाई भव्य र सभ्य बनाउनु पर्छ, यसमा कुनै कमी कमजोरी हुन दिनुहुँदैन ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com