१६ छोरीका बाउको १७ वर्षकी किशोरीसँग बिहे


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

इन्द्रसरा खड्का–

डडेल्धुराको बेलापुरकी कलावती विष्ट अहिले १९ वर्षकी भइन् । उनलाई छोरा जन्माउन भन्दै १७ वर्षकै उमेरमा बैतडीको पुर्चाैडी नगरपालिका वडानम्बर १० विजयीपुरका रामबहादुर विष्टले बिहे गरे ।

श्रीमान ४५ वर्षका रामबहादुर (हाल ४७ वर्ष)सँग कलावतीका माइतीले नै विहे गरिदिएका हुन् । शारीरिक रुपमा अपांगता भएकी कलावतीकी वृद्धा आमा र साना बहिनी छन् ।

कलावती विष्ट

बुबाको पहिले नै मृत्यु भएका कारण घरमा खान बस्नको समेत समस्या भए पछि आफ्नो भार कम गर्न आमा र माइती पक्षले नै आफूलाई राम बहादुरसँग विहे गरिदिएको कलावतीले बताइन् ।

विहेको एक वर्षसम्म श्रीमान र परिवारबाट ठिकठिकै व्यवहार भयो । एक वर्ष पुगिसक्दा समेत उनी गर्भवती नभए पछि शुरु हुन थाल्यो– श्रीमान, सौता र सौताका छोरीबाट दिनरात कुटपिट र टोकसो ।

रामबहादुरकी जेठी श्रीमती अम्बिका विष्टबाट १६ छोरी जन्मिए । ती मध्ये पाँचको मृत्यु भयो । ११ जीवित छन् । ५ जनाको विहे भइसक्यो । ५ छोरी साथमै छन् ।

‘घरको काम, खेतबारीको काम सबै मेरै थाप्लोमा । एक्लो ज्यान कसरी सक्नु । त्यसमाथि रातदिनको अपमान’ कलावतीले रुँदै भनिन् ।
आफूलाई घर परिवारसँग बस्न निकै समस्या भइरहेको भए पनि कहाँ जाने र के गर्ने भन्ने कुराको टुंगो नहुँदा कुटाइ र गाली सहन बाध्य भएको उनले बताइन् ।

कलावतीको कम्मर बांगो हुँदा उनलाई हिँड्डुल गर्न समेत गाह्रो हुन्छ । ‘छोरा जन्मे त व्यवहार पनि राम्रै हुन्थ्यो होला । छोरा जन्माउन नसकेको भन्दै देख्यो की परिवारका सबै जना झम्टिन आउँछन्’ उनले पीडा पोखिन् ।

धेरै काम गर्न नसकेको दिन र बिरामी परेको दिन त खाना समेत नदिने गरेको उनले बताइन् । ‘घरबाट निस्क भन्छन्, कुट्छन्’ कलावतीले भनिन्, ‘म कसरी छोरा जन्माउँ ? धेरै गाह्रो भइसक्यो मलाई ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com