बाँकेमा आगलागीबाट १६ घरगोठ जलेर नष्ट


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, बाँके । नरैनापुर गाउँपालिका–६, जमुनी गाउँमा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन्। बुधवार मध्यान्ह भएको आगलागीमा परी १३ घर पूर्णरुपमा जलेर नष्ट भएको र ३ घरमा आंशिक क्षति भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिए। केटाकेटीले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगो घरमा सल्किएको थियो । स्थानीय पेशकार यादव र बुद्ध धोबीको घरबाट सुरु भएको आगलागी गाउँका अन्य घरमा सल्किएको प्रहरी सहायक निरीक्षक चौधरीले बताए। आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, गरगहना जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। आगलागीमा परी घरमा राखेको दुई लाख भारतीय रुपैयाँसमेत जलेको स्थानीय बर्षाती धोबीले बताए। उनले आगलागीमा एउटा राँगा मरेको र एउटा घाइते भएको बताए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीले स्थानीयको घर जलेर नष्ट भएको र ठूलो क्षति पुर्‍याएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनले लाखौंको क्षति भएको अनुमान गरी पनि क्षतिको विवरण संकलन भएपछि मात्र यकिन हुने बताए। आगलागी पीडितलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ। राहत स्वरुप प्रति परिवार ५० किलो चामल, पाँच किलो दाल, एक किलो नुन र एक लिटर तेलका साथै प्रति परिवार दुई हजार रुपैयाँ वितरण गरिने अध्यक्ष शाहले बताए। फुसले छाएका र घर जोडिएकोले क्षति धेरै भएको प्रहरीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com