श्रीमान्को कुटाइले गाेदावरी नपाकी उपमेयर घाइते
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
शिवहरि घिमिरे
श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।
वृतका प्रहरी निरीक्षक सुन्दर चौलागाईले कुटपीटपछि उपप्रमुखकको आँखामा गम्भीर चोट लागेको र शरीरभरि निलडाम रहेको जानकारी दिए । उनका अनुसार अहिले उप–प्रमुखका श्रीमान कुँवर महानगरीय प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा छन् ।
कुटाइबाट घाइते बनेकी उप–प्रमुख उपचारपछि घर फर्किएको पारिवारिक स्रोतको भनाई छ । श्रीमानको कुटाइले घाइते बनेकी उप–प्रमुख अधिकारी बुधबार दिउँसो प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी परिसर जावलालखेल आएकी थिइन् । उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी छिन् । प्रहरीले नियन्त्रणमा लिएका उनका श्रीमान् धु्रव कुवँरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताए । उनले भने, ‘निर्वाचित भएयता परिवारलाई समय दिनै छाडिन्, पहिले–पहिले मिलेर खाना पकाउँथ्यौं, दुःखसुख साटासाट हुन्थ्यो, अहिले रातीसम्म पनि घर आउँदिनन्, यही विषयमा हाम्रो झगडा भएको हो, मेरो कुरा अटेर गरेकोले मैले हात उठाएकोे हुँ ।’
स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट उपप्रमुख बनेर अधिकारीले चुनाव जितेकी थिइन् । जनप्रतिनिधि बनिसकेपछी श्रीमान ध्रुव कुँवर र उनीबीच झगडा हुन थालेको पारिवारिक स्रोतको भनाई छ । प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । परिसरका एसएसपी गणेश ऐरले श्रीमान् श्रीमतीको झगडा भएकोले मेलमिलामको लागि महिलासेलमा पठाइएको बताए । ‘श्रीमानलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘दुवै पक्षलाई मेलमिलाप गराएर घर पठाउने तयारी गरेका छौं ।’ उप–प्रमुख कुवँर स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक समेत हुन् ।






