छोरी, बुहारीलाई कम्प्युटर शिक्षा
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
महिला खबर–
बैतडीको दोगडाकेदार गाउँपालिकाका छोरी, बुहारीहरु कम्प्युटर सिक्न थालेका छन् । एसएलसी पास गरेपछि घरमा नै बस्दै आएका गरिब जेहन्दार महिलालाई कम्प्युटर सिकाउन थालिएको हो ।

अहिले हरेक काममा कम्प्यूटर अनिवार्य हुने भएकाले छोरी बुहारीलाई कम्प्यूटरको पहुँचमा पु¥याउन वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीका ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको अध्यक्ष घनश्याम भट्टले बताए ।
अहिले गाउँपालिकाको ३ र ७ वडामा एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको छ । तीन महिनासम्म महिलालाई आधारभूत कक्षा सिकाइने भट्टले बताए । उनले भने, ‘युवा महिलाका लागि आधारभुत कम्प्युटर शिक्षा’ भन्ने मूल नारासहित चैत २० गतेदेखि कक्षा सञ्चालन भएको हो ।
गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकका गरी २३ महिला कम्प्युटर कक्षामा सहभागी छन् । सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागि समेत कम्प्युटर शिक्षा आवश्यक रहेकाले छोरीबुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याइएको भट्टले बताए ।
कम्प्युटर शिक्षा आवश्यक र उपलब्धिमूलक रहेको तालिममा सहभागी सीता विष्टले बताइन् । तीन महिनासम्म सञ्चालन हुने आधारभुत कम्प्युटर शिक्षामा प्रशिक्षक दिपेन्द्र कार्कीले प्रशिक्षण दिइरहेका छन् ।






