अज्ञात समूहले चितवनका किसानले लगाएको ३ हजार एक सय केराको बोट काटेर नष्ट


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

वैशाख १८, चितवन । चितवनका किसानले लगाएको ३ हजार एक सयभन्दा धेरै केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । जिल्लाको कालिका नगरपालिका ६ भटेनी नयाँ टोलस्थित १२ किसानको केराखेती अज्ञात समूहले सोमबार राति काटेर सखाप बनाइदिएको हो ।

हालसम्म पहिचान खुल्न नसकेको समूहले रातिको समयमा कोसा लागिसकेका केराका बोट बगानमै काटेर सखाप बनाइदिएका हुन् । पीडित किसानहरूका अनुसार ३१ सयभन्दा बढी केराका बोट काटिएको छ। केराका बोट काट्ने समूहले मकैको बोटसमेत काटिदिएका छन् ।

केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केराका बोट काटेर सखाप बनाएपछि दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ।

कसको कति क्षति भयो ?

पीडित किसानहरूका अनुसार सबैभन्दा धेरै स्थानीय कृषक कोपिला दाहालको १२ सय बोट केरा काटिएको छ । त्यसैगरि शोभा भट्टका ६ सय बोट, झलक सुवेदीको ३ सय बोट, शंकर अम्गाईका २ सय ५० बोट, गोपी लामिछानेका २ सय बोट, नवराज धितालका एक सय ५० बोट, लिला पंगेनीको १ सय ५० बोट, पुर्णबहादुर खड्काको ९७ बोट, देवीप्रसाद गोतामेका ५० बोट, गोविन्द दाहालका ५० बोट, ध्रुव आचार्यका ३५ बोट र भूमिनन्द दुवाडीको १२ बोट केरा काटेर पुरै ढालिएको छ।

फलिसकेका केराका बोट काटिनुमा ठुलै समूहको हात रहेको र यो घटना सूनियोजित रहेको बताउँदै पीडित किसानहरूले दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् ।

केही दिन अघि मात्रै केरा खेती भएकै स्थानबाट लागूपदार्थ दुर्व्यसनी युवाहरूलार्इ प्रहरीले पक्राउ गरेको थियो । किसानहरूले तिनै युवाहरूले केराखेतीमा क्षति गरेको अनुमान गरे पनि तथ्य कुरा खुलिसकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com