फिफ्टी-सिकस्टी होईन समानताका आधारमा एकता :मन्त्री पोखरेल


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

नेकपा (एमाले) का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा नेकपा (माओवादी केन्द्र) सँग चाँडै एकता हुने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई कार्यभार हस्तान्तरण समारोहमा आज महासचिव पोखरेलले आफूहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयनको परीक्षाको घडी आएकाले एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएकाले यथोचित, सम्मानजनक र समानताका आधारमा एकता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पचास पचास वा साठी चालीस प्रतिशतमा होइन तीन आधारमा एकता हुन्छ । यसमा ढुक्क हुनुस् । यो राष्ट्र, जनताको चाहना र आवश्यकता हो । यसलाई हामीले जिम्मेवार र संवेदनशील रुपमा पूरा गर्नेछौँ ।”

दुई पार्टीको एकता संयोजन समितिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राविधिक र अन्य विषयको बिट मार्न जिम्मेवारी दिएकाले अतीतमुखी नभई भविष्यमुखी विचारका आधारमा एकता हुने स्पष्ट गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले वाम गठबन्धनले चुनावमा जारी गरेको साझा घोषणापत्रका आधारमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाउँदै लोकतान्त्रिक प्रतिष्पर्धालाई जित्ने र जित्न नसक्ने दुवैले स्वीकार गर्न सक्नुपर्ने जनाउनुभयो ।

“राजनीतिक अधिकार प्राप्तिको कालखण्ड आधारभूत रुपमा पूरा भएकाले अब राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नेछ । श्रमिक आन्दोलनले पनि यही साझा मुद्दामा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

निवर्तमान अध्यक्ष एवं महासंघका संरक्षक विष्णु रिमालले सरकारले मजदूरको साक्षी भएर मात्र होइन मजदूरका पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै महासंघको गौरव र उपलब्धिलाई नयाँ नेतृत्वले आत्मसात् गर्नुपर्ने अपेक्षा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले विगतको उपलब्धिका जगमा श्रमिक अधिकारको रक्षा र मुलुकको समृद्धिका लागि महासंघले काम गर्ने बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com