३३ केजी सुन तस्करी काण्डको भित्री कथा : प्रहरीहरुकै मिलेमतो (भिडियो सहित)


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

हवाई मार्ग भएर गएको माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पुगेको छ । यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन । यो सुन तस्करी काण्डमा अन्तत  प्रहरी अधिकारीहरुकै संलग्नता रहेको पुष्टी हुँदै जान थालेको छ ।

तीन महिना अघि गत माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।
गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्व प्रहरी नायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई यसअघि पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ । ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी अधिकारीहरु भने निलम्बनमा परिसकेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी विकास राज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीहरु निलम्बित भएको पुष्टि गरेको छ । तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको छ । छानविन समितिले एसएसपी श्याम खत्रीलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाएको छ । एसएसपी खत्री २०७३ पुस २१ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको अर्को घटनामा समेत मुछिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सारबाट बाहिरिएको सुन विमानस्थलको गोल्डेन गेटबाहिर बरामद गरेको थियो । उक्त सुन पास गराउन संलग्न रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको थियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले अब तस्करीलाई सघाउने दोस्रो तहमाथि अनुसन्धान केन्द्रित गरेको छ । दोस्रो तहमा प्रहरीका केही बहालवाला अधिकारी, विमानस्थलका कर्मचारी र केही सुन व्यवसायीसमेत छन् । पक्राउ परेका तत्कालीन डीआईजी निरौलालाई भने मोरङ पठाइएको छ । बयानका क्रममा निरौलाले सुन तस्करीमा मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आफूले चिनेको र उनका बाबु आफ्नो साथी रहेको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com