श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले श्रमिकको न्युनतम ज्याला बढाउने योजना रहेको समेत जानकारी   दिए ।

सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान केन्द्रित गर्न थालिसकेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनको सन्देशमा लेखिएको छ, ‘सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ ।’

नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति सम्मान प्रकट गर्दै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सबैलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुभकामना सन्देश दिँदै मजदुरको सम्मानित जीवनयापनको सुनिश्चितताका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com