पुरुष विदेश, विकासको काममा महिला


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

महिला खबर

बैतडीको सिगास गाउँपालिकाका महिलाहरु विकास निर्माणका काममा अग्रसर हुन थालेका छन् । गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएपछि गाउँको विकासमा महिला नै अगाडि बढेका हुन् ।

सिगाँस गाउँपालिकाको वडा नम्बर ७ मा महिलाहरुले नै ८ किलोमिटर बाटो निर्माण गरेका छन् । युवाहरु कामको सिलसिलामा मलेसिया, दुबई लगायतका खाडीमुलुक र भारत लगायतका देशमा जाँदा बैतडीका अधिकांश गाउँमा युवा छैनन् ।

गाउँमा युवा पुरुष नहुँदा गाउँको विकास निर्माणका काम देखि पारिवारिक काम पनि महिलाले धान्दै आएका स्थानीय सुरेन्द्र साउँदले बताए । ‘गाउँका सबैजसो पुरुष रोजगारीका लागि भारततिर गएका छन, गाउँमा आएको विकासलाई पनि छोड्ने कुरा भएन, मजदुरी गरेबापत पैसा पनि पाइन्छ, गाउँको विकासमा सहभागिता पनि हुन्छ ।’ सिगासकी गीता साउँदले भनिन् ।

पुरुष विदेश हुँदा महिलालाई झनै जिम्मेवारी मञ्जु साउँदको भोगाई छ । उनले भनिन्, ‘एकातिर घरको काम, अर्कोतिर खेतबारीको अब हुँदाहुदै सडक, बाटोघाटो बनाउने काममा पनि हामी नै जुट्नुपर्यो ।’

सिगास गाउँपालिका ७, को चामादेखि बोरीसम्म ८ किलोमिटर बाटो निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि महिलाहरु बाटो खन्न जुटेका हुन् । ‘महिला पुरुष भन्दा कमजोर छैनन् भन्ने पनि हाम्रो कामले देखिन्छ ।’ डिक्रा साउँदलेले भनिन ।

महिलाहरुले बाटो खनेबापत दैनिक ४ सय रुपैयाँ ज्याला पाउँछन् पाउने गरेका छन् । भागरथी साउँद भनिन्, – ‘कमाउन गएका पुरुषहरु घर फर्किने टुंगो छैन । पुरुषको मात्रै मुख ताक्ने होे भने त हाम्रो गाउँ कहिले बन्छ ?’

गाउँका सबैजसो पुरुष वैदेशिक रोजगारीमा गएकाले महिलाले नै बाटो निर्माणमा मजदुरी गरिरहेका बाटो निर्माण समितिका अध्यक्ष गणेश विकले बताए ।

बैतडी लगायत सुदुरपश्चिमका पुरुष गहुँ छरेर रोजगारीका लागि भारत जाने गर्दछन् । बाली भित्र्याउनका लागि गाउँ फर्कने गर्छन् । ‘गाउँमा पुरुषहरु नहुँदा सञ्चालन भइरहेका विकास निर्माणका काममा महिलाको सहभागिता बढी छ ।’ सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रौपदी चन्दले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com