सुन तस्करी प्रकरण: फरार एसएसपीका चालक पक्राउ, एसएसपीमाथि मुद्धा चलाउने तयारी


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

व्यापारी सनम शाक्य हत्या र त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरिएको छ । सुन तस्करीको गिरोहलाई एसएसपी खत्रीका चालकले समेत सहयोग गरेको प्रमाण भेटिए पछि उनलाई पक्राउ गरिएको हो।

एसएसपी खत्री भने फरार छन्। उनी छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको छ।

हालसम्म सो प्रकरणमा प्रहरी अधिकारीसहित २७ जना मोरङ प्रहरीको हिरासतमा छन्। जसमा ५ जना प्रहरी अधिकारी, सुन व्यापारी, नेताहरु तथा थाई एयरवेजका कर्मचारीहरु छन्। पक्राउ परेका पाँचै जना प्रहरी अधिकारीहरु पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का निलम्बित भइसकेका छन्। डिएसपी केसीलाई पनि प्रहरी कार्यालयबाट बाहिर जान दिइएको छैन।

विमानस्थलबाट गत माघ ७ गते ३३ किलो सुन तस्करी थियो । सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले व्यापारी सनम शाक्यलाई करेन्ट लगाएर मारेको थियो। शाक्य पहिले सोही गिरोहमा अकाउन्टेटका रुपमा काम गर्दै आएका थिए। समूह छाडेर गएपछि उनले नै सुन लुकाएको हुनसक्ने आशंकामा अपहरण गरेर यातना दिने क्रममा उनको मृत्यु भएको थियो ।

सनमका आफन्तले हत्यामा उच्च पदस्थ संलग्न रहेको भन्दै सत्यतथ्य छानबिन गरी पाऊँ भन्ने उजुरी प्रधानमन्त्री कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिए पछि चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

सोही समितिको अनुसन्धानपछि विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सकै कर्मचारीको सहयोगमा सुन तस्करी हुँदै आएको खुलेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com