राष्ट्रिय बाणिज्य बैंकको साउनदेखि चैतसम्मको खुद नाफा ३ अर्ब ८ करोड
प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार
वैशाख १६, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उसले सबै बैंकहरुलाई नाफामा उछिनेको छ।
साउनदेखि चैतसम्म बैंकले ३ अर्ब ८ करोड खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा उसले २ अर्ब ७ करोड कमाएको थियो।
बैंकको खुद व्याजवापतको आम्दानी ६ अर्ब १९ करोड छ। बैंकले निश्क्रिय कर्जामा अझै सुधार गर्न सकेको छैन। गत वर्ष २ दशमलव ७ प्रतिशत यस्तो कर्जा रहेकोमा हाल २ दशमलव ९ प्रतिशत पुगेको छ। कर्जा तथा निक्षेप अनुपात भने ७३ प्रतिशत छ।
बैंकको जगेडा कोषको आकार पनि बढेको छ। यस अवधिमा कुल ४ अर्ब ९७ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ।
बैंकको निक्षेपमा पनि केही सुधार आएको छ। गत वर्ष १ खर्ब ३५ अर्ब निक्षेप संकलन भएकोमा यो वर्ष १ खर्ब ५३ अर्ब पुगेको छ। एक वर्षको अवधिमा ११ अर्बले कर्जा बढेको छ।
एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभेको यस बैंकले आगामी १९ गतेदेखि ‘राष्ट्रिय वाणिज्य बैंक’को नामबाट संयुक्त कारोबार गर्ने भएको छ।






