ओली-प्रचण्ड ‘वान अन वान’ वार्ता : २० वैशाखभित्रै एकताको निष्कर्ष निकाल्ने कसरत


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० वैशाखभित्रै एकतालाई निष्कर्षमा पु-याउने गरी सघन छलफल केन्द्रित गरेका छन् । पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने योजना गुज्रिएपछि दुवै नेताले २० गतेभित्र अर्को मिति टुंगो लगाउने गरी सघन छलफल केन्द्रित गरेका हुन् ।

दुई नेताले शुक्रबार र शनिबार करिब पाँच घन्टा छलफल गरेका छन् । एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारीसहित सबै विषय लगभग टुंगो लागेकाले पार्टीभित्रै आन्तरिक गृहकार्य सकेर २० वैशाखमा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । तर, माओवादी केन्द्रका नेता अग्नि सापकोटाले अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी नै रहेको बताए । ‘उहाँहरूबीच छलफल जारी छ, तर अन्तिम निष्कर्ष आइसकेको छैन,’ सापकोटाले नयाँ पत्रिकासँग भने ।

२० गतेभित्र संयोजन समिति बैठक
उच्च स्रोतका अनुसार मिल्न बाँकी विषयमा करिब–करिब टुंगो लागेर प्राविधिक पक्षको गृहकार्य जारी रहेकाले २० वैशाखभित्रै पार्टी एकता संयोजन समिति बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको छ । ‘वार्ता सकारात्मक दिशामा अघि बढेकाले २० गते नै एकता संयोजन समितिको बैठकबाट दस्तावेज पारित गरेर एकता मितिको निर्णयसमेत हुन सक्ने बलियो सम्भावना छ,’ उच्च स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘यसबीचमा कुनै असहजता देखिएन र नयाँ घटनाक्रम विकास भएन भने त्यही दिन अन्तिम निर्णय हुन सक्छ ।’ एकता भड्काउने प्रयास हुने भएकाले पछिल्ला विकासक्रमबारे दुवै नेताले निकट नेताहरूलाई पनि खुलस्त जानकारी गराएका छैनन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच लगातार वार्ता भइरहे पनि दुवैतर्फको सचिवालयले भने लगातारको छलफल र गृहकार्यको प्रगतिमा अनभिज्ञता प्रकट गरेको छ । ‘दुवै अध्यक्षज्यूको बडिल्यांग्वेज हेर्दा वार्ता सकारात्मक दिशामै गइरहेजस्तो देखिन्छ, तर उहाँहरूले नै केही नबताएपछि कुनै जानकारी हुने कुरा भएन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘छलफल निरन्तर चलिरहेकाले कहिलेसम्म एकता भइसक्छ भन्न सकिने अवस्था छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शनिबारको छलफल संघीय सरकारको कामकारबाही र प्रदेश सरकारका विषयमा केन्द्रित भएको जानकारी दिए । ‘उहाँहरूबीच सरकारका कामका विषयमा छलफल भएको हो, एकताको सन्दर्भमा होइन,’ सापकोटाले भने, ‘शुक्रबारचाहिँ उहाँहरूले एकतामा केन्द्रित रहेर छलफल गर्नुभएको थियो ।’

३५० हाराहारीको केन्द्रीय कमिटी
प्रधानमन्त्री ओली र प्रचण्डबीच एकीकृत पार्टीमा ३५० हाराहारीको केन्द्रीय कमिटी बनाएर ६०÷४० को अनुपातमा संख्या मिलाउने कसरत भइरहेको छ । स्रोतका अनुसार केन्द्रीय कमिटीसहित दसवटै तहका संगठनात्मक संरचनामा दुवै पार्टीको हिस्सेदारीमा केन्द्रित रहेर छलफल चलेको हो । तर, यसबारे दुवै अध्यक्षले पार्टी नेताहरूसँग पनि ठोस छलफल गरेका छैनन् । ‘दुवै अध्यक्षले न्यायोचित, सम्मानजनक र समानताका आधारमा एकता हुन्छ भनिसक्नुभएको छ । अहिले उहाँहरूबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीको समग्र संख्या र कताबाट कति राख्ने बारेमै छलफल चलिरहेको छ,’ माओवादी केन्द्रका नेता सापकोटाले भने, ‘तर छलफल निष्कर्षमा पुगिसकेको छैन ।’

दुवै पार्टीका नेता व्यवस्थापनको प्रयास
६०/४० अनुपातमा एकता गर्दा दुवै पार्टीका नेता व्यवस्थापन हुने गरी गृहकार्य चलिरहेको छ । यो मोडालिटीअनुसार एमाले केन्द्रीय कमिटीका २०६ र माओवादी केन्द्रबाट कम्तीमा १३७ देखि १४० जना केन्द्रीय कमिटीमा पर्न सक्ने छन् । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो ११७ सदस्यीय र ३९ जनासम्मको स्थायी समिति बनाउन सकिने गरी खुला रूपमा छलफल चलिरहेको एक नेताले बताए । तर, दुवै पार्टीका नेताहरूले संख्यात्मक अनुपातमा भन्दा पनि व्यक्तिको योग्यता, क्षमता र योगदान सबै पक्षलाई हेरेर संगठनात्मक संचरनाको टुंगो लाग्ने बताउँदै आएका छन् ।

०७० को निर्वाचनपछि माओवादी विभाजित बनेकाले यसअघि एकीकृत पार्टी हुँदा स्थायी समिति र पोलिटब्युरोमा रहिसकेकालाई सकभर पुरानै स्थानमा राख्न प्रधानमन्त्री र प्रचण्ड दुवै लचकताका साथ प्रस्तुत भएको उच्च स्रोतको दाबी छ । ‘प्रस्तावनामा जनयुद्ध राख्ने, चुनाव चिह्न सूर्य नै राख्ने मोटामोटी समझदारी भइसकेकाले अहिले छलफल संख्यात्मक हिस्सेदारीमै केन्द्रित छ,’ दुवै अध्यक्षनिकट रहेर एकतामा सक्रिय एक नेताले भने । अहिले माओवादीमा ९९ सदस्यीय सचिवालय छ । पार्टी विभाजनपछि स्थायी समिति ३३ सदस्यीय बनाइएको थियो । त्यस्तै, माओवादीभित्र कमिटीको पुनर्गठन चल्दा कहिले केन्द्रीय कार्यालय त कहिले केन्द्रीय सचिवालयले संगठनसम्बन्धी काम गर्दै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com