वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा कमी,महिलाको संख्या भने बढ्दै


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

विगत केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा तीव्र रूपमा कमी आए पनि महिलाको संख्यामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ।

आर्थिक वर्ष २०७२/७३ को तुलनामा ०७३/७४ मा महिला कामदारको देशबाट बाहिरिने क्रम झण्डै ९ प्रतिशतले वृद्धि भएको विभिन्न अन्तर्राष्ट्रिय निकाय र श्रम मन्त्रालयले संयुक्त रूपमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विदेशिनेमा पुरूषको संख्या ठूलो रहेकाले उनीहरू जाने क्रममा कमी आउँदा विदेश जाने कुल कामदारको संख्या घटेको देखिन्छ।

पछिल्ला ९ वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये सरदर ९६ प्रतिशत पुरूष र ४ प्रतिशत महिला छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आत्मनिर्भर
२०७२/७३ को तुलनामा ०७३/७४ मा महिला कामदारको बाहिरिने क्रम झण्डै ९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तो वृद्धिको कारणबारे श्रम मन्त्रालयकी उपसचिव रमा भट्टराईले भनिन्, “एउटा कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेकोले पनि हुन सक्छ। अर्को सरकारले विदेशमा घरेलु महिला कामदार संस्थागत रूपमा पठाउने भनेपछि गैरकानूनी रूपमा जाने महिला कामदारको संख्या घटेर संस्थागत रूपमा जान थालेकोले वृद्धि भएको हुन सक्छ।”

पुरूषको तुलनामा महिलाले धेरै समय काम गर्नुपर्ने, उनीहरू शारिरिक तथा आर्थिक शोषणमा पर्ने गरेको लगायतका कारण देखाउँदै सरकारले आर्थिक वर्ष ०७१/०७२ मा महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउन कडाइ गरेको थियो।

तर कामदार जाने गन्तव्य मुलुक लगायतका पक्षमा पछि केही खुकुलो पारिएको बताइन्छ।

खुकुलो
श्रमसम्बन्धी एकजना जानकार गणेश गुरूङका अनुसार खाडी मुलुकमा महिला घरेलु कामदारको अत्यधिक माग भएकाले विदेशिने नेपाली महिला कामदारको संख्या बढेको बताउँछन्।

उनले भने, “गन्तव्य देशहरूमा बूढाबूढी र बालबालिका हेर्ने मानिसको कमी छ। त्यसमा महिला कामदारको निकै माग छ। जति कडाइ भयो महिलाको जाने क्रम त्यति नै घट्छ र जति खुकुलो हुन्छ त्यति नै संख्या बढ्दै जान्छ।”

नेपाली महिला कामदारहरूको मुख्य गन्तव्य संयुक्त अरब एमिरेट्स, कुवेत र मलेसिया रहेको छ।

पहाडी भेगका महिलाहरू बढी विदेशिने गरेको पछिल्लो अध्ययनमा जनाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com