प्रथम ‘महिला सगरमाथा आरोही’ जुन्को ताबेइको निधन


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

प्रथम ‘महिला सगरमाथा आरोही’ जुन्को ताबेइको ७७ बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ताबेइको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सन् १९६२ मा टोकियोको शोवा महिला विश्वविद्यालयबाट ग्रयाजुएट गरेपछि ताबेइले हिमालहरुको आरोहण सुरु गरेकी थिइन् । सन् १९७० मा ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण तेश्रोको सफल आरोहण गरेकी थिइन् । त्यतीबेला उनी त्यति अग्लो हिमाल आरोहण गर्ने जापानकी प्रथम महिला थिइन् ।

ताबेइले सन् १९७५ मा विश्वको अग्लो शिखर ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको आरोहण गरेकी थिइन् । उनले जापानी महिला आरोहण दलको उपप्रमुखका रुपमा सगरमाथा आरोहण गरेकी थिइन् ।

सन् १९९२ सम्म ताबेइले सगरमाथा, किलिमान्जारो, अमेरिकाको देनालीसहित विश्वका सात शिखरहरुको आरोहण गरेकी थिइन् ।

सगरमाथामा फोहोरको समस्याबारे शोधकर्ता ताबेइले सन् २००० मा जापानको विश्वविश्द्यालयबाटै स्नातकोत्तर गरेकी थिइन् । सन् २००७ मा उनले वातावरण सम्बन्धि मिनिस्टर अवार्ड प्राप्त गरेकी थिइन् । यो अवार्ड उनले हिमालयहरुको वातावरण संरक्षणमा योगदान दिएबापत पाएकी थिइन् ।

ताबेइले आफ्ना हिमाल आरोहणका अनुभव समेटिएको किताबहरु समेत लेखेकी थिइन् । साथै हिमाल आरोहणको अनुभव सुनाउन उनले विभिन्न टेलिभिजनहरुमा अन्तरवार्ता समेत दिएकी थिइन् ।

सन् २००७ मा उनमा स्तनको क्यान्सर भएको पत्ता लागेको थियो भने २०१२ मा पेटको क्यान्सर लागेको पत्ता लागेको थियो । क्यान्सर लागेको पत्ता लागिसकेपछि पनि उनले माउन्ट फुजी लगायतका हिमालहरु आरोहण गरेकी थिइन् भन् सन् २०११ को मार्चमा भूकम्प र सुनामी प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेकी थिइन् ।

ताबेइको अन्तिम आरोहण यसैबर्षको जुलाइमा रहेको थियो । उनी गत जुलाइमा विद्यार्थीहरुलाई लिएर माउन्ट फुजी गएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com