इटहरीमा आगलागी, ४ घर जले


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४, पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गएराति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ ।

राति १२ बजेतिर विद्युत् सर्ट भएर आगो सल्किएको हो। ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् ।

आगलागी भएर तत्काल करिब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र इटहरीको दमकल आएकाले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले जानकारी दिए ।

आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल घर पूर्णरुपमा खरानी हुँदा ती पसल घरमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तनलगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट हुँदा ती ती परिवारको बिचल्ली हुन पुगेको छ ।

उक्त आगलागीमा चार पसल घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको चारतले पक्की घरमा पनि नोक्सानी पुगेको छ । पीडितमध्ये लालधनको रु चार लाख बढीको नोक्सानी भएको छ ।

सो आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब रु ४५ लाख नोक्सानी भएको बताइएको छ । नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गरे । अधिकारीसँगै अरुको पनि सम्पत्ति नष्ट भएका छन् ।

त्यहाँ लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ । समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com