लघु जलविद्युत आयोजना बन्द हुँदा, स्थानियबासी अन्धकारमा बस्न बाध्य


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, बैतडी । सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सात वटा लघु जलविद्युत आयोजनामध्ये छ वटा आयोजनाबाट पूर्ण रूपमा विद्युत् उत्पादन बन्द भएका छन्। मर्मत सम्भारको अभावमा आयोजना बन्द हुँदा स्थानियबासी अन्धकारमा बस्न बाध्य भएका छन्। ०५८ मा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेको १० किलोवाट क्षमताको सिराडीखोला लघु जलविद्युत् आयोजना, सोही वर्ष निर्माण भएको आठ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना, ०६० मा निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघु जलविद्युत् आयोजना र ०६५ मा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघु जलविद्युत् आयोजना अहिले बन्द छन्। सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका चार वटा लघु जलविद्युत् आयोजनाबाट ५२ किलोवाट विद्युत् उत्पादन हुन्थ्यो। जसबाट ५१२ घरधुरीले बिजुली बालेका थिए। तर, ती आयोजनाबाट विद्युत् उत्पादन बन्द भएपछि स्थानियवासी अन्धकारमा बस्न बाध्य भएका छन्। यस्तै, वडा नम्बर १ मा रहेको इरानागाड लघु जलविद्युत आयोजना पनि पूर्ण रुपमा बन्द भएको छ। आयोजनाबाट विद्युत् उत्पादन बन्द भएपछि अहिले एक हजारभन्दा घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। तत्कालीन जिल्ला विकास समिति र विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माण भएका जलविद्युत आयोजनाहरु बन्द हुँदा लाखौं रुपैयाँका सामग्री नष्ट हुने अवस्थामा पुगेका छन्। वडा नम्बर ८ मा रहेका बल्लेखोला र सीराडी खोला लघु जलविद्युत् आयोजनाका तार र पोलबाहेक अन्य सामग्री नष्ट भइसकेको वडाध्यक्ष कर्णबहादुर साउदले बताए। वडा नम्बर ६ मा रहेका थलालीगाड लघु जलविद्युत् आयोजना मर्मतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ भने न्वाघरीगाड र न्यौलालीगाड लघु जलविद्युत् आयोजना मर्मतका लागि २५ २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com