आशाराम बापुलाई आजिवन कैद
प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार
भारतीय ‘धर्मगुरु’ आशाराम बापुलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै आजीवन कैदको सजाय सुनाएको छ ।
बुधबार जोभपुरको विशेष अदालतले १३ वर्षकी बालिका बलात्कारमा बलात्कार गरेको आरोपमा ७७ वर्षीय आसाराम बापुलाई आजीवन कैदको सजाय सुनाएको हो ।
अदालतले आसारामसहित पाँच जनालाई बलात्कारमा दोषी भएको ठहर गर्दै सजाय सुनाएको छ । आशारामलाई पाँच वर्षअघि आश्रममा बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो ।
बालिकाका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा ती बालिका लडेपछि बाबुआमाले उनलाई आसारामको आश्रममा लिएर गएका थिए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीका आफन्तले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए ।
सुरतका दुई जना दिदीबहिनीले पनि आफूलाई भगवान भन्ने आशारामले बलात्कार गरेको भन्दै छुट्टाछुट्टै मुद्दा हालेका थिए ।
आशारामलाई २०१३ अगस्टमा प्रहरीले हिरासतमा लिएको थियो । आशाराम दोषी ठहर भएपछि उनका अनुयायीले गर्न सक्ने प्रदर्शनलाई लक्षित गरेर भारतको गृह मन्त्रालयले राजस्थान, गुजरात र हरियाणा राज्यमा उच्च सतर्कता अपनाएको छ भने जोधपुरमा अप्रिल ३० सम्म सभा गर्न रोक लगाइएको छ ।






