सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ ।

प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ ।

प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेको थियो ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

५ सचिव, ११ महाशाखा, २ सय ३७ दरबन्दी
प्रधानमन्त्री कार्यालयमा ५ सचिव रहने गरी ११ वटा महाशाखाअन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा नयाँ थपिएका हुन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीकै रुचीमा कार्यालयअन्तर्गत नतिजा व्यवस्थापन महाशाखा बनेको छ ।

महाशाखाले सबै मन्त्रालयले बजेट खर्चअनुसार कस्तो परिणाम दिएका छन् अनुगमन गर्नेछ । शासकीय सुधार महाशाखाअन्तर्गत राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलाई राख्ने गरी तयारी भइरहेको छ ।

कार्यालय खोज्न सिंहदरबार पुनर्निर्माणलाई पत्राचार
कार्यकक्ष अभाव भएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयलाई पत्राचार गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

‘सचिवालयलाई १६ वटासम्म कोठा उपलब्ध हुने गरी छिटो व्यवस्थापन गरिदिन पत्राचार गरेका छौँ, विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ कुँवरले भने, ‘कार्यालय व्यवस्थापन हुन नसकेका कारण सहसचिवज्यूहरूलाई जिम्मेवारी तोकिए पनि दैनिक कामकाज आरम्भ गर्न सक्नुभएको छैन ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com