कृषि फर्मबाट लाखौँ आम्दानी गर्न सफल रामभजन चौधरी


प्रकाशित मिति : बैशाख ६, २०७५ बिहीबार

वैशाख ६,  दाङ– रामभजन चौधरीलाई खान, लगाउन कुनै दुःख भने थिएन। पुर्ख्यौली सम्पत्ति जमिनबाट आउने धान, गहुँले वर्षभरी खान पुग्थ्यो। लमही नगरपालिका वडा नं। १ र २ को वडा सचिव भएकाले त्यहाँबाट आउने तलबले घर खर्च चल्थ्यो। तर, रामभजन यतिमा सन्तुष्ट हुने कुरै भएन। बाउ, बाजेले कृषि कर्म गरेको रामभजनले देखे। यहीबाट उनमा कृषि कर्मको जाँगर पलायो। एबिसी कृषि फर्म स्थापना गरेर गाई र भैंसी पालेका छन्।

रामभजनको आधुनिक गोठमा १३ वटा गाई, ३ वटा भैंसी, ९ वटा बाच्छा, बाच्छी र पाडापाडी छन्। २ वटा गाईबाट सुरु भएको थियो, गाई तथा भैंसी पालन व्यवसाय। दैनिक ९५ लिटर दूध बजारमा बिक्री भइरहेको छ। एक लिटर दुध ४२ रुपैयाँमा बिक्री हुन्छ। दैनिक चार हजार रुपैयाँको दूध बिक्री हुन्छ। मासिक एक लाख २० हजारको दूध बिक्री हुन्छ। यसमध्ये आधा जति रकम खर्च हुन्छ। ६० हजार रुपैयाँ मासिक बचत हुन्छ।

बिहान ४ बजे नै उठ्छन् रामभजन र उनका परिवारका सदस्य। थारु समुदायमा छुट्टिएर अलग्गिएर बस्ने कमै हुन्छन्। १८ जनाको परिवार छ । गाई फर्ममा रामभजनका श्रीमती, कान्छी बुहारी, छोरी र भाइ संलग्न छन् । रामभजनका एक छोरा र एक छोरी छन् । छोरा डिग्री सकेर लोकसेवाको तयारीमा छन् भने छोरी आईएसिएजी भेटनरी सकेर घरमै छिन् । ‘सानो तिनो समस्या आउदा पशु चिकित्सक बोलाउनु पर्दैन, घरमै छोरीले पढेकाले सजिलो भएको छ’, रामभजनले भने–‘गाई, भैंसी पालनबाट म र मेरो परिवार सन्तुष्ट छ, अझ यो फर्मलाई बढाउदै लैजाने योजनामा छु ।’

गोठमै रमाउन मन पराउँछन् रामभजन। गाई पाल्न सुरु गर्दा दूध दुहने सीपसम्म थिएन। हिम्मत हारेनन् । अहिले दूध दुहन सक्छन् । यहाँ पालिएका गाईसँग मित्रता गाँसेका छन् उनले । ‘एकछिन् गोठ छोड्न मन लाग्दैन्, पशु चौपायासँग मित्रता गाँसेको छु’, उनले भने, ‘१० बजेदेखि ५ बजे सम्म वडा कार्यालयमा हुन्छु, कति बेला ५ बज्ला र गाई गोठमा जाम्ला जस्तो लाग्छ।’ पशु पालन ब्यवसाय सुरु गर्दा २७ लाख लगानी लाग्यो। यो लगानी उनले स्थानीय बैंकबाट सहुलियतमा लोन लिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तरकारी खेतीबाट यूटर्न

व्यवसायिक तरकारी खेतीबाट रामभजनको नाम चलेको थियो । नयाँ नयाँ उपाय अपनाउँदै तरकारी खेती गरेका रामभजनले त्यो कामबाट यूटर्न भएर गाई, भैंसी पाल्न थालेका हुन् । कसरी तरकारी खेती छाडेर गाई पाल्न थाले त रु उनी भन्छन्, ‘तरकारी खेतीबाट आम्दानी पनि हुन्छ तर, त्यहाँ बढी बिचौलियाका कारण आम्दानी कम देखियो, धेरै मेहनत गर्नुपर्ने तर, दुःख नगरी विचौलियाले किसान भन्दा बढी कमाउन थाले’, उनले सम्झँदै भने, ‘अहिले थालेको गाईपालन ब्यवसायमा विचौलिया देखिन्, दुध सिधै डेरीमा लग्यो, बेच्यो।’

माछा, मासु, जाँड रक्सी खाँदैनन्

कृषि कर्ममा लागेपछि साथीहरुसँग उठवस पातलिएको छ। रामभजन जाँड, रक्सी, माछा, मासु खाँदैनन् । साथीहरुसँग भेट हुँदा उनीहरुको बसउठ हुँदा कर गर्छन् । तर, उनको बानी ब्यवहार सबैले थाहा पाइसकेका छन् । ‘जाँड रक्सी, माछा, मासु खाँदैन’, उनले भने– ‘साथीहरु भेट गर्न यही फर्ममै आउनुहुन्छ ।’ घरमै ब्याटमिन्टन कोर्ट छ । बिहान ६ बजे देखि ७ बजेसम्म त्यहीँ खेल्छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com