अब युवा भेडा चराउन अरबमा धाउनु पर्दैनः मन्त्री विष्ट


प्रकाशित मिति : बैशाख ६, २०७५ बिहीबार

वैशाख ६, गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन्।

बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताएका छन् ।

विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताए । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उनले भने, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उनले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताए ।

विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उाले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ” मन्त्री विष्टले भने, “जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ ।” सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उनले बताए ।

‘अब युवाले अरबमा भेडा चराउनु पर्दैन’

उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताए । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उनले भने, “गाउँमै हजारौँ रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।”

मन्त्री विष्टले गुल्मीका दर्जनौँ सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताए ।

वचनबाट पछाडि हट्ने छैनौं

मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताए । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”

“हामी राजनीतिक रुपमा फरक हुन सकौँला त्यो ठूलो कुरा होइन” उनले भने, “ठूलो कुरा त गाउँका जनताको जीवन माथि उठाउनु हो ।” जनताले दिएको विश्वास डगमगाउन नपाउने गरी काम गर्नेमा उनले विश्वस्त पारे । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com