जनताको सेवामा सबै कर्मचारीले केन्द्रित हुनुपर्ने : मन्त्री बिना मगर
प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार
वैशाख ५, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले जनताको सेवामा अवरोध पुर्याउने हरेक अप्ठ्यारा तोडिने बताएकी छिन् । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामूहिक रुपमा लाग्नुपर्ने बताइन् । ‘विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाई हो । यसको जिम्मेवारी हामीले लिएका छौं,’ उनले भनिन् ‘अहिले हरेक जनताले हाम्रो मन्त्रालयलाई, तपाईलाई, मलाई हेरिरहेका छन्, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ ।’
मन्त्रालयका कर्मचारी तलब खाएर पनि जनताको सेवा गर्ने भूमिकामा रहेकाले सबै कर्मचारीले जनताको सेवामा केन्द्रित हुनुपर्ने उनले बताए । ‘देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ । सिस्टम, पद्धति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ । हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुप¥यो,’ उनले भनिन् ‘सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुप¥यो ।’
मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजीकरण गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मन्त्री मगरले भनिन् ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् ।’ खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनले बताइन् ।
कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकि थिइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति थियो ।






