यातायात व्यवसायी सिन्डिकेटको विरोधमा आन्दोलित
प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार
वैैशाख ५, काठमाडौं– सरकारले सिन्डिकेट चलाउँदै आएका देशभरिका यातायात समितिहरु खारेज गरेपछि यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। बुधबारदेखि नै उनीहरुले आन्दोलन सुरु गरेका हुन्।
वैशाख २७ गतदेखि अनिश्चितकालीन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउने उनीहरुले जनाएका छन्। २१ गते पनि उनीहरुले गाडी नचलाउने निर्णय गरेका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकले देशभरिका यातायात समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो। सामाजिक संस्थाका रुपमा यातायात समितिहरु दर्ता गरेर अर्बौंको व्यवसाय गरेपछि त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकारले कम्पनीमा दर्ता भए मात्र यातायात व्यवसाय गर्न पाउने निर्णय गरेको हो।
बुधबार पत्रकार सम्मेलन गरी यातायात व्यवसायीले यातायात नै ठप्प पार्ने चेतावनी दिएका हुन्। सल्लाह नै नगरी यातयात व्यवस्था निर्देशिका संशोधन गरेर आफूहरुको १० खर्ब लगानी रहेको व्यवसाय धरासायी बनाउन लागेकाले आन्दोलन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। आफूहरुले सिन्डिकेट खडा गरेको नभई आलोपालो शैलीमा गाडी चलाएको यातायात व्यवसायीहरुको दाबी छ।
यातायात ठप्प पारे सरकारले भने उनीहरुको सवारी साधन नियन्त्रणमा लिने र सेनारप्रहरी लगाएर चलाउने तयारी गरिरहेको छ।
महासंघका अध्यक्ष कर्माचार्य भने निजी सम्पत्ति सरकारले कब्जा गर्न नसक्ने दाबी गर्छन्। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार हडताल गरेमा सरकारले सवारी साधन नियन्त्रणमा लिन सक्ने प्रावधान छ।
सार्वजनिक यातायात ठप्प पारेमा आफूहरुले उनीहरुको गाडी नियन्त्रणमा लिएर चलाउने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन्।






