रेसुंगा विमानस्थल २५ करोड लागतमा वैशाख अन्तिममा सम्पन्न हुने
प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार
वैशाख ४, रुपन्देही। प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीको रेसुंगा विमानस्थल निमार्ण कार्य सुरु भएको १२ बर्षमा यहि वैसाख अन्तिम साता परीक्षण उडान हुने भएको छ। एक दशकपछि जिल्लामा पहिलो पटक परीक्षण उडान शुरु हुन लागेको हो। विमानस्थल सञ्चालन भएसँगै गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङजाका सर्वसाधरण प्रत्यक्ष लाभांवित हुनेछन्।
विमानस्थल निर्माण कार्यको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ। विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल जग्गामध्ये ५६ रोपनी सार्वजनिक जग्गा हो। त्यस क्षेत्रमा रहेका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ।
तम्घास देउरालीबाट विमानस्थलसम्म पुग्ने कच्चि बाटो पनि साँघुरो र कच्ची भएकाले तत्काल यसको पनि सुधार गर्नुपर्ने देखिएको छ। यो विमानस्थल रहेको ठाउँमा दिउसो १२ बजेपछि निकै हावा लाग्ने भएका कारण त्योभन्दा अगाडि नै विमानको उडान भर्नुपर्ने प्राविधिकहरुको भनाइ छ।
परीक्षण उडानका लागि विमानस्थलको ५ सय ७० मिटर धावन मार्गको फिल्ड तयार भइसकेको छ। तयार भएको फिल्डमा अब रनवे मार्किङ्गको काम सम्पन्न भएको र परीक्षण उडान तयारी भइरहेको रेसुंगा विमानस्थल आयोजनाका सव ईन्जीनियर दिनेश परियारले वताए।
नेपाल सरकाले एक मुष्ट रुपमा रकम उपलव्ध नगराएका कारण ढिला भएको समितिले जनाएको छ। थोरै थोरै रकमले काम गर्नुपर्ने बाध्यताका कारण विमानस्थल निर्माण कार्यमा ढिलाई हुन गएको विमानस्थल निर्माण कार्यको जिम्मेवारी पाएका निर्माण व्यवसायी नारायणप्रसाद पोख्रेलले बताए।
नियमित विमानस्थल संचालन भएमा जिल्लाको समग्र आर्थिक विकासले समेत फड्को मार्ने उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पन्थीले बताए।
विमानस्थल निर्माणमा अहिलेसम्म १२ करोडभन्दा बढी खर्चभएको छ। सम्पन्न हुँदासम्म २५ करोडभन्दा बढी खर्च लाग्नेछ।






