सिरिया हमला:ट्रम्पद्वारा सम्बोधन, तीन ठाउँ निसाना


प्रकाशित मिति : बैशाख १, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट सिरियाको अवस्थाबारे राष्ट्रलाई सम्बोधन गर्दै सिरियामा हमला जारी रहेको बताएका छन्।

ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्।

गत हप्ता सिरियाली नगर डुमामा गरिएको आरोपित रासायनिक हमलाको जवाफमा हवाई आक्रमण गरिएको हो।

आफ्नो सम्बोधनमा ट्रम्पले भने, “फ्रान्स र ब्रिटेनका सशस्त्र फौजहरूको संलग्नतासहित एउटा संयुक्त कारबाही जारी छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निसाना
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।

सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।

सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै ‘यस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्ने’ जनाएको छ।

खतरा
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ‘फौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएको’ भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।

तर उक्त कारबाही ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्।

हमलाले सिरियाली जनतालाई रासायनिक अस्त्रहरूबाट जोगाउने र त्यस्ता अस्त्रको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यको उल्लङ्घन हुनबाट रोक्ने प्रधानमन्त्री मेले उल्लेख गरिन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए।

उनले सिरियाली सरकारका गतिविधिहरूले फ्रान्सले तोकेको लक्ष्मणरेखालाई नाघेको टिप्पणी गरे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com