अमेरिकासँग युद्धको अवस्था आयो – रुस


प्रकाशित मिति : चैत्र ३०, २०७४ शुक्रबार

रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने बताएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच तिक्ताता बढ्दै गएपछि दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । उनले युद्धका कुनै पनि सम्भावनालाई इन्कार गर्न नसकिने बताए । उनले अमेरिकाको रवैयाले विश्व शान्ति खलबलिने चेतावनीसमेत दिएका छन् ।

आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र व्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक हमलाको जवाफ कसरी दिने भनेर छलफल गर्न सक्नेछन् बताएको छ । यद्यपि ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीको बारेमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ ।

यसअघि सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला हुँदा कयौं व्यक्ति मारिएका थिए । सो आक्रमणमा सिरियाका सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, रुसले आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिका भ्रमणसमेत रद्द गरेका थिए । भ्रमण रद्दलार्इ आक्रमणको सम्भावनासँग जोडेर हेरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसअघि ट्विटरमार्फत ट्रम्पले आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएका थिए । ११ अप्रिलमा ट्रम्पले भनेका थिए, ‘रुस आफ्नो साथी सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com